काठमाडौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समृद्धि र विकासका लागि कांग्रेसको काँधमा फेरि एक पटक अभिभारा थपिएको बताएका छन्।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्ति ल्याएको बताए।
‘कांग्रेसले गर्दा नै छ सय अर्ब राजश्व वृद्धि भएको छ’, उनले भने, ‘कांग्रेसको नेतृत्वमो बनेको सरकार र उदार आर्थिक नीतिले गर्दा नै आर्थिक विकास भएको हो।’
ग्रामीण क्षेत्रमा बाटोघाटो निर्माण, पक्की पुल, विद्यालयलगायतका दीर्घकालीन संरचना नेपाली कांग्रेसकै पालामा खुलेका दाबी गर्दै नेता सिंहले भने, ‘कम्युनिष्टहरूले गफ मात्रै दिने हो। काम गर्ने कांग्रेसले हो।’
नेपालमा कम्युनिजम आयो भने मुलुकको विकास ठप्प हुने आरोप लगाउँदै नेता सिंहले भने, ‘उत्तर कोरिया, पेरुलगायतका वामपन्थी पार्टीको सरकार रहेको देशको हबीगत कस्तो भन्ने कुरा माधवकुमार नेपालसहितका नेताहरूले देखिसकेका छन्।’
दश वर्षमा साम्यवादी व्यवस्था ल्याउँछौँ भनेर कम्युनिष्टहरूको एकीकरण प्रयास भएको भन्दै कांग्रेस नेता सिंहले जनतालाई कम्युनिजमविरुद्धको भ्रमका विषयमा भन्नु पर्ने बताए। उनले कम्युनिष्ट पार्टीहरूले मुलुकमा साम्यवादी व्यवस्था ल्याए भने आफ्नो व्यक्तिगत सम्पत्ति भन्ने नै केही नहुने बताए।
‘मुलुकको विकास र प्रजातन्त्रका लागि फेरि एक पटक कांग्रेसको जित अनिर्वाय भएको छ’, उनले भने, ‘साम्यवादी व्यवस्था ल्याउन कांग्रेसले दिँदैन।’ कम्युनिजम आयो भने नेपालमा कहिल्यै पनि निर्वाचन नहुने उनको भनाइ थियो।