काठमाडौं: फिल्म 'ऐश्वर्य' कार्तिक ९ गते रिलिजको तयारीमा छ। फिल्मले 'तिमी रोएको पल' बोलको गीत सार्वजनिक गर्यो। गीतमा फिचरिङ रह्यो रमेश उप्रेती र दीपिका प्रसाईंको। अभिनेत्री केकी अधिकारी देखिइनन्। फिल्मको पोस्टर रिलिज भयो। त्यो प्रचार अस्त्रबाट पनि केकीलाई पर राखियो। त्यस्तै फिल्मको टिजरमा उनको एक झलक पनि देखिएन। अफिसियल ट्रेलर सार्जनिक हुँदा बल्ल दर्शक ढुक्क भए फिल्ममा केकी अधिकारी आगन्तुक कलाकार मात्र होइनन् भन्नेमा।
रिलिज मिति नजिकिँदै गर्दा बल्ल फिल्म ’ऐश्वर्य’ले केकी अधिकारीलाई प्रचारका लागि अगाडि ल्याएको छ। फिल्मको नयाँ पोस्टरमा केकी अधिकारीलाई अभिनेता रमेश उप्रेतीसँग प्रस्तुत गरेको छ। 'दर्शकलाई सर्पाइजको लागि मात्र ट्रेलरमा अघि रिभिल नगरिएको हो। उनलाई प्रचारमा स्पेस नदिएको होइन', निर्माता तथा अभिनेता रमेश उप्रेतीले भने।
फिल्म युनिटले गरेको प्रचार प्लानिङअनुसार केकीलाई ढिला प्रस्तुत गरेको निर्देशक दिवाकर भट्टराईले जानकारी दिए। भने,'केकीजीको भूमिका महत्वपूर्ण र काम निकै राम्रो छ। कसरी हामीले उहाँलाई प्रचारबाट टाढा राख्न सक्छौं? सही समय कुरेका हौँ।'
फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय रहेको छ। रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन्। अमेरिकाको बसाइपछि नेपाल फर्किएका रमेशले यसै फिल्ममार्फत निर्माताको रुपमा पनि डेब्यु गरेका छन्। निर्मल शर्मा साह निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ।