२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा २५ वर्षीय युवा चुनावी मैदानमा उत्रिएका थिए। काठमाडौं क्षेत्र नम्बर ८ बाट कुकुर चुनाव चिह्न लिएर।
चार वर्षअघि उनी सबैभन्दा कम उमेरका उम्मेदवार थिए। त्यतिबेला उनलाई थोरैले मात्र नोटिस गरे। भोट पनि कम आयो। अहिले तिनै युवा काठमाडौं क्षेत्र नं ८ बाट फेरि चुनावी मैदानमा उत्रिएका छन्। विवेकशील साझा पार्टीका तर्फबाट। उनी हुन पुकार बम।
पुकार ३० वर्ष टेकेका छैनन्। तर, उनी ठूला दलका उम्मेदवारलाई चुनौती दिन चुनावी मैदानमा उत्रिएका छन्।
पुकार जस्तै ३० वर्ष कम उमेरका अरु दुई युवा पनि काठमाडौंमै चुनावी मैदानमा छन्। २८ वर्षीय मिलन पाण्डे क्षेत्र नं ९ र २६ वर्षीय सुबुना बस्नेत क्षेत्र नं ४ बाट।
पुकार सामाजिक अभियान्ता भए पनि लामो समयदेखि शिक्षण पेशामा आवद्ध छन्। समाजशास्त्र र पोलिटिकल साइन्समा मास्टर्स् सकेका पुकार स्थापनाकालदेखि नै विवेकशील साझा पार्टीमा आवद्ध भएको बताउँछन्।
सम्पदा बचाउ अभियानदेखि डाक्टर गोविन्द केसीका हरेक अभियानमा पुकार, मिलन र सुबुना साथमा छन्।
एमविए सकेकी सुबुना २०६८ सालदेखि नै विवेकशील पार्टीमा आवद्ध भएर संगठन निर्माण कार्यमा महत्वपूर्ण भूमिका निभाएको बताउँछिन्।
'युथ फर ब्लड' संस्थामा ३ वर्षसम्म काम गरेकी सुबुना आफ्नो क्षेत्रमा परिचित रहेको सुनाउँछिन्। विवेकशील पार्टी सहभागी भएको हरेक अभियानमा नेतृत्वदायी भूमिका निभाएको उनको भनाई छ।
आलोचकले भनेजस्तो आफू अपरिपक्व भएको उनी अस्वीकार गर्छिन्।
‘काम उमेरले हैन अध्ययन, इच्छाशक्ति, जोश र जाँगरले गर्ने हो’ भन्छिन्, ‘हामी तिनैजना अरुभन्दा अध्ययनशील छौँ। जनताको भावना बुझ्छौँ। जनताको हितका लागि काम गरेर प्रमाणित पनि गरेका छौँ।’
सुबुना व्यापार जागिर दुवै गर्छिन्। एउटा संस्थामा उद्यम गर्नेहरुलाई परामर्श दिन्छिन् भने इलाममा उत्पादन भएका कृषिजन्य सामाग्री काठमाडौंमा बेच्छिन्। उनले आफ्ना भाइ-बैनीहरुलाई रोजगारसमेत दिएकी छिन्।
मिलन पनि आफूहरुलाई अपरिपक्व भन्नेहरुसँग सहमत छैनन्।
भन्छन्, ‘हामी विगत लामो समयदेखि राजनीतिमा छौँ। विभिन्न अभियानमा समाजसँग जोडिएर काम गरेका छौँ। विवेकशील पार्टीलाई सानो टिमबाट यहाँ ल्याउन हाम्रो भूमिका छ। हामी सक्षम छौँ भन्ने प्रमाणित गरिसकेका छौँ।’
‘कसरी लिइरहेका छन् त उनीहरुले चुनावलाई?’
मिलन विगतमा फर्किए। २०७० मा काठमाडौंबाट ४ जना युवाहरु स्वतन्त्र रुपमा चुनावमा होमिएका थिए। उज्वल थापा, गोविन्द नारायण, पुकार बम र सन्तोष प्रधान।
स्वतन्त्र रुपमा चुनावमा होमिएर २५ दिन प्रचार गर्दा सम्मानजनक मत पाउनु नै जनताले विकल्प चाहेका छन् भन्ने गतिलो उदाहरण भएको मिलन सुनाउँछन।
पार्टी अस्तित्वमा नआएको र चुनाव चिह्न समेत नरहेको अवस्थामा सम्मानजनक हार पार्टीको पहिलो अध्याय भएको मिलनको कथन छ। त्यसले पार्टी केही हदसम्म राजनीतिक रुपमा चिनिएको उनी बताउँछन्।
भन्छन्, ‘हामी जनताहरुसँग नजिक भएर जनताका लागि काम गरेका थियौँ।’
मिलन तेस्रो अध्यायको रुपमा गएको स्थानीय चुनाव सम्झन्छन्। स्थानीय चुनावले विवेकशील साझा पार्टीलाई राजनीतिक रुपमा स्थापित गरेको उनको तर्क छ। भन्छन्, ‘स्थानीय चुनावले युवाहरुले स्थापित गर्यो। हार्नेलाई के मत दिनु भनेर मत नदिएका पब्लिकलाई पनि मत दिएको भए रन्जुले जित्ने रहेछ भन्ने भयो।’
चौथो र महत्वपूर्ण अध्याय पार्टी एकीकरणा भएको मिलन सुनाउँछन्। पार्टी एकीकरणपछि विवेकशील साझा पार्टी देशकै एकमात्र वैकल्पिक शक्ति भएकाले चुनावमा जान गाह्रो नभएको सुनाउँछन्।
भन्छन्, ‘स्थानीय चुनावले ल्याएको माहोल दुई पार्टी एकीकरण भएपछि बढेको छ। जनताहरुले एकमात्र बलियो विकल्प पाएका छन्।’
यी सबै कुराले यसपालिको चुनावमा धेरै 'प्लसपोइन्ट' भएको मिलन सुनाउँछन्। विगत लामो समयदेखि सामाजिक काममा खटिएकाले यसपालि चुनावमा राम्रो नतिजा ल्याउने उनको भनाई छ।
पुकार पहिले र अहिले पार्टीलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आएको बताउँछन्।
भन्छन्, ‘अहिले हामी भोटरलाई चिन्छौँ। भोटरले हामीलाई पनि चिन्छन्। हामीसँग अहिले राम्रो संगठन छ। चुनाव चिह्न पनि आफ्नै।’
युवा भएर युवाकै क्षेत्रमा चुनावमा उत्रिएको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिक्का-टिप्पणी भएका छन्। यसबारे उनलाई कुनै चिन्ता छैन्। प्रजातन्त्रमा विश्वास गर्नेहरुले यस्तो कुरा गर्न नसुहाउने उनी बताउँछिन्।
भन्छिन्, ‘कसैका समर्थकले लगाएको आरोप मात्र हो। चुनावमा यरिया भन्ने हुँदैन्। जनताले आफूले मन पराएको व्यक्तिलाई गोप्य मतदान गर्ने हो।’
क्षेत्र नम्बर ४ मा गगनले उम्मेदवारी दिइसकेका छैनन्। थापाभन्दा आफू पहिलो घोषित उम्मेदवार भएकाले थापाविरुद्धमा उम्मेदार बनेको भन्नु नै गलत रहेको सुबुनाको तर्क छ।
सुबुना भन्छिन्, ‘मेरो उम्मेदवारी भ्रष्टाचारविरुद्ध हो। अराजकताको बिरुद्ध हो।’
मिलन पुराना नेताहरुले देशमा ल्याएको परिवर्तनलाई सम्मान गर्नुपर्ने बताउँछन्। तर, अब पनि पुरानो सोचले देश विकास नहुने उनको तर्क छ। ४५ वर्षभन्दा कम उमेरका ८१ प्रतिशत मानिसहरु भएको देशमा ७० वर्षभन्दा माथिका नेताहरुले युवाहरुको भावना बुझेर काम गर्न नसक्ने उनी सुनाउँछन्।
भन्छन्, ‘फुटवल राम्रो खेल्ने मानिसले फुटवल खेलेकै राम्रो क्रिकेटमा प्रवेश गरेर हुन्न। नेताहरुले सधैभरि कुर्सी मोह देखाएर आफूले कमाएको इज्जत पनि गुमाउँदै गएका छन्।’
सुबुना चुनावी मैदानमा होमिन मानसिक रुपमा तयार भइसकेको सनाउँछिन्। कुनै पार्टी वा व्याक्तिविरुद्ध भन्दा पनि बेथितिबिरुद्ध लड्ने उनको भनाइ छ।
देशको विकास गर्ने हो भने चित्र र चरित्र दुबै सुधार गर्नु पर्ने पुकार सुनाउँछन्। देश विकास भएन भनेर गुनासो नगर्न पनि युवा अघि आउनुको विकल्प नभएको उनको तर्क छ।
एउटै प्रयोगले फरक नतिजा नआउने मिलन सुनाउँछन्। फरक नतिजा ल्याउन र परिवर्तन गर्न फरक प्रयोग गर्नुपर्ने सुनाउँछन्।
‘३० वर्षमुनिका युवाहरुले अन्य पार्टीमा टिकट पाउँदैनन्। हामी ३० मुनिकाले ठूला दललाई चुनौती दिन सकेका छौँ। ठूलो सङ्ख्यामा रहेका युवाहरुको आशा भरोसा भएका छौँ। मिलनले सुनाए, अब हरेक बेथितिको अन्त्य गर्नको लागि विकल्प छ। विवेकशील साझा पार्टीले गर्छ भन्ने देखाएका छौँ।’
भन्न जति सजिलो गर्न सम्भव छैन्। पुराना नेताहरुले गर्न नसकेको काम गर्न गाह्रो भए पनि आफूहरु सक्ने मिलन सुनाउँछन्।
भन्छन्, ‘हामीले नीति बनाउने हो। हामी कुन नीती बनाउँदा देशलाई फाइदा हुन्छ अध्ययन गर्न सक्छौँ। अरु देशले गरेको प्रगति बुझ्न सक्छौँ। हामी विज्ञसँग छलफल गरेर देशलाई सुहाउँदो नीति निर्माण गरेर देश विकास गर्न सक्छौँ।’
मिलनको कुरामा सहमत छन् पुकार पनि। भन्छन्, ‘हामी नीति निर्माण गर्ने ठाउँमा पुग्यौँ भने गलत नीति बन्दा खबरदारी गर्छौँ। देशलाई हित हुने नीति बनाउँन जोड दिन्छौँ। हाम्रो योजनाअनुसार काम त भइ नै हाल्छ।’
‘हाम्रो नियत सफा छ। हामी अध्ययनशील छौँ। अरुभन्दा तुलनात्मक रुपमा सक्रिय पनि। हाम्रो मूल्य-मान्यता पतन भएको छैन्’ सुबुना भन्छिन्।'
काठमाडौंमा दिनहुँ झन्झट बेहोर्नुपरेको सुबुना सुनाउँछिन्। सार्वजनिक यातायातमा सास्ती हुन्छ। धारामा पानी आउँदैन। महङ्गी बढेको छ। धुवाँ-धुलोको कारण अपराध गरेजस्तै गरी मास्क लाएर हिड्नुपरेको छ। उनी प्रश्न गर्छिन्, ‘के यो परिवर्तन सम्भव छैन्?’
उनको तर्क छ –सम्भव छ।
युवाहरु दुई किसिमले आफ्नो ठाउँ छोड्नु परेको सुबुना सुनाउँछिन। गाउँमै शिक्षा र देशमै रोजगार भए युवाहरु खाडी जानु नपर्ने उनको कथन छ।
भन्छिन, ‘अहिलेका नेताहरुले देश विकास गर्ने भए हामीजस्ताले आफ्नो ठाउँ छोड्नु पर्दैनथ्यो। नत दिनहुँ एयरपोर्टमा बाकसमा शव भित्रिन्थ्यो। देश नेताहरुले हैन युवाहरुले पसिना बगाएर पठाएको रेमिट्यान्सले चलेको छ।’
यी सबै बाध्यता परिवर्तन गर्न सक्ने सुबुनाको तर्क छ।
मिलन नेताहरु 'ड्रग डिलर' भएको बताउँछन्। जनता त्यही 'ड्रग'को नसामा लठ्ठिएर परिवर्तनको आशा मारिसकेका छन्। मिलन भन्छन्, ‘इतिहास परिवर्तन भइराख्छ। अब जनताहरु आफैँले देशको लागि केही गर्छन्।’