काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र(आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजले आज शिष्टाचार भेट गरेकी छन् ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आर्थिक कुटनीति तथा वहुपक्षीय व्यापार प्रवद्र्धनलगायतका विषयमा छलफल भएको छ।
भेटमा परराष्ट्रमन्त्री महराले नेपालको निकासी प्रवद्र्धनमा आइटिसीले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै त्यसलाई अझै प्रभावकारी बनाउन आग्रह गरे।
नेपाली घरेलु उत्पादनको अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’मा आइटिसीले थप सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेकाले सबैको ध्यान आर्थिक समृद्धि भएको स्पष्ट पारे।
उपप्रधानमन्त्री महराले भने, ‘नेपालको संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचनहरु चरणवद्धरुपमा अगाडि बढेको छन्। सबै निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायित्व कायम भई नेपाल द्रुत आर्थिक विकासमा अगाडि बढ्छ।’
कार्यकारी निर्देशक गोन्जालेजले नेपालमा आर्थिक विकास तथा व्यापारको अपार सम्भावना भएको उल्लेख गर्दै उत्पादन, ब्रान्डिङ र मार्केटिङमा ध्यान दिनुपर्ने बताइन्।
नेपालका उत्पादनहरु कफी, चिया, अलैंची एवम् नेपाली कागज अन्तर्राष्ट्रिय बजारका लागि महत्वपूर्ण वस्तु भएको भन्दै उनले ठूलो मात्रामा उत्पादन तथा गुणस्तरमा ध्यान दिनुपर्ने बताइन्।