PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

व्यक्तिगत स्वार्थ र भागवण्डाले अलमलमा वाम एकता



आकाश क्षेत्री

व्यक्तिगत स्वार्थ र भागवण्डाले अलमलमा वाम एकता

काठमाडौं :  निर्वाचन क्षेत्रसम्बन्धी बाँडफाँट कार्यदललार्इ चुनावी टिकेट भागबन्डा गर्न हम्मेहम्मे परेको छ। 

एमाले नेता तथा वाम गठबन्धनको निर्वाचन क्षेत्रसम्बन्धी बाँडफाँट कार्यदलका सदस्य शंकर पोखरेल ठूलो एकता भएकाले सिट बाँडफाँटमा समस्या देखिनु सामान्य हो भन्छन्। 

‘अबको तीन दिनभित्र वाम गठबन्धनको निर्वाचन क्षेत्रसम्बन्धी बाँडफाँट कार्यदलले सबै कामको टुंगो लगाउने अनुमान मैले लगाएको छु,’ पोखरेलले भने, ‘वाम एकतामा समावेश भएका सबै दलले सूची तयार पारिरहेका छन्।’ 

त्यस्तै वाम एकताको भागबन्डा ढिला हुनुको मुख्य कारण भनेको गठबन्धनमा नेताहरुका आ–आफ्नै स्वार्थ भएको माओवादी नेता मणि थापा बताउँछन्।  

‘वामपन्थीका मतदाताले एकै ठाउँमा मतदान गर्न चाहेका कारण एकता सम्भव भएको हो तर, यसमा केही नेताको व्यक्तिगत स्वार्थ लुकेका कारण विवाद देखिएको छ,’ नेता थापाले पहिलोपोस्टसँग भने। 

वाम एकताको सुरुवाती समयमा ‘नोट अफ डिसेन्ट’मा हस्ताक्षर समेत गरेका नेता थापाले वाम एकता आफैंमा नराम्रो नभएको तर यसमा नेताहरुको व्यक्तिगत स्वार्थ जोडिएका कारण आफूले पहिले नै शंका व्यक्त गरेको बताए।

असहमतिका २ बुँदा 

नम्बर १ः  चुनाव चिन्ह 
एकताको सुरुमा एमाले नेताहरुले वाम एकतामा समावेश भएका सबै दलहरु सूर्य चिन्हमै निर्वाचन लड्ने कुरा भएको बताउँछन् थापा। 

तर, माओवादीका केही नेताले सूर्य चिन्हमा चुनाव लड्ने कुरामा सहमति हुनुपूर्व नै यसको विरोध गरेपछि माओवादीले आफ्नै दलको चुनाव चिन्हबाट चुनाव लड्ने सहमति भयो। 

 नयाँ शक्ति भने सूर्य चिन्ह लिएर निर्वाचनमा होमिने सहमति भएको थियो। तर, माओवादी अझै सूर्य चिन्ह लिएर निर्वाचनमा जाने सम्भावना रहेको केही नेता बताउँछन्। 

यो कुराको निष्कर्ष छिट्टै आउने भन्दै एमाले सचिव प्रदीप ज्ञावालीले भने, ‘हामीले यस विषयमा छलफल गरिरहेका छौं  केही कुरा मिलाउन बाँकी छ।’

नम्बर २ :  सिटको भागबन्डा   
वाम गठबन्धनको निर्वाचन क्षेत्र बाँडफाँट भएपछि एकताका सम्पूर्ण दलका नेताहरु केपी ओलीको कमाण्डमा निर्वाचनमा होमिने सहमति भएपनि अझैसम्म सिटको भागबन्डामा सहमति भएको छैन। 

तीनवटा ठूला दल एक ठाउँमा हुँदा सबै कुरा एकै पटकमा सहमति हुन नसक्ने र सबैको चित्त बुझाउनुपर्ने कार्यदलका सदस्य पोखरेल तर्क राख्छन्। 

माओवादीले  वाम एकताको सुरुमा भएको सहमति बमोजिम ६०/४० अनुसार ४० प्रतिशत सिटको माग गरिरहेको छ भने एमाले यसमा असहमत रहेको छ। त्यस्तै, नयाँशक्ति पनि सिटको विषयमा आफ्नो अडान कायम नै राखिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell