गोरखा : सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ वटा भूकम्प प्रतिरोधी घर निर्माण गरिएका छन्।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ जनाले पहिलो किस्ता अनुदान बुझिसकेका छन्।
यस्तै, नौ हजार ६९३ जनाले दोस्रो किस्ता रकम तथा दुई हजार ६६४ जनाले तेस्रो किस्ता रकम बुझेका छन्। पौडेलका अनुसार भूकम्पले क्षति पुगेका घर मर्मत गर्न दुई हजार १९ जनाको नाम आएको छ।
प्रबलीकरणका लागि एक लाख रुपैयाँका दरले भूकम्पपीडितले अनुदान रकम पाउँछन्। यस्तै, दश हजार जनालाई दोस्रो किस्ता रकम उपलब्ध गराउने तयारी भएको छ भने दुई हजार ३३८ जनालाई तेस्रो किस्ता दिन सिफारिश गरिसकिएको छ।
गैरसरकारी संस्थाले पनि गोरखाका जौवारी, पन्द्रुङलगायत गाउँमा घर बनाउन अनुदान दिएका छन्।
पुनःनिर्माण प्राधिकरणले आज गोरखामा आयोजना गरेको गुनासो व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै पौडेलले छ हजार ४१० जना डकर्मी उत्पादन गर्ने लक्ष्य लिइएकामा अहिलेसम्म पाँच हजार १०३ जना दक्ष डकर्मी उत्पादन भएको जानकारी दिए। यिनीहरुलाई सात दिनको तालिम दिइएको थियो।
५० दिने तालिम दिएर चार हजार ५५१ जना कामदार उत्पादन गर्ने भनिए पनि अहिलेसम्म दुई हजार ९४ जनालाई मात्रै तालिम दिइएको छ।
साथै ११ वटा स्थानीय तहमा ३९५ वटा नमूना भूकम्प प्रतिरोधी घर बनाउने भनिएकामा अहिलेसम्म जम्मा ९४ वटा मात्रै घर बनेका छन्।
गोरखा जिल्लाभर ११ हजार ४२४ जनाले आफ्नो घर भत्किए पनि अनुदान नपाएको गुनासो गरेका थिए।
उनीहरुको घर भत्किएको हो वा होइन यकिन गर्न इञ्जिनियरको टोली गाउँमा परिचालन गरिएको छ। सात हजार ४२४ जनाको घर पुनः सर्वेक्षण गरिसकिएको प्राधिकरणले जनाएको छ।रासस
