PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

९२ करोडमा जोरखानेको बहुद्देश्यीय स्टेडियम बन्ने



पहिलोपोस्ट

९२ करोडमा जोरखानेको बहुद्देश्यीय स्टेडियम बन्ने

काठमाडौं : नेपाल जोरखाने खेलकुद संघले कीर्तिपुरमा करिब ९२ करोड लागतमा बहुउद्देश्यीय स्टेडियम बनाउने भएको छ। त्यसका लागि नेपाल जोरखाने खेलकुद संघ, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको छ।

नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष समेत रहेका इरानका पूर्व उपराष्ट्रपति मोहसेन मिरालिजादेले आर्थिक सहयोगका विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरे।

कुल लागतको ७५ प्रतिशत महासंघ र बाँकी २५ प्रतिशत संघले व्यवस्था मिलाउने गरी सम्झौता भएको अध्यक्ष मानन्धरले त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

त्यसैगरी, अध्यक्ष मानन्धर र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जग्गा सम्बन्धमा सम्झौता पत्रमा पनि हस्ताक्षर गरे। कीर्तिपुर नगरपालिका वडा नम्बर १० मा संघलाई नगरपालिकाकाले १८ देखि २० रोपनी जग्गा स्टेडियम निर्माणका लागि उपलब्ध गराउने मेयर महर्जनले बताए।

अध्यक्ष मानन्धरले चाँडै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माण कार्य थाल्ने बताउदै ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

महासंघका अध्यक्ष एवं पूर्व उपराष्ट्रपति मोहसेनले नेपाली जोरखानेका लागि ठूलो अवसर भएको बताउदै जोरखाने संघलाई निर्माण कार्यमा सक्रिय हुन आग्रह गरे।

जोरखाने संघका महासचिव रवि घिमिरे स्टेडियम हातामा जोरखाने स्टेडियमसहित बहुउद्देश्यीय कभर्डहल, स्विमिङ पुल, आवास गृह, रेस्टुरेन्ट र जिम्नेजियम रहने जानकारी गराए। महासचिव घिमिरेले सानो आकारमा ओलम्पिक एकेडेमीको अवधाराणामा स्टेडियम निर्माण गर्न लागिएको बताए।

 

दक्षिण एसियाली जोरखाने भोलिदेखि

सोही कार्यक्रममा प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगिता शुक्रबारदेखि हुने जानकारी गराइएको छ।

नेपाल जोरखाने खेलकुद संघले आयोजना गर्ने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान गरी ८ राष्ट्रका ८० खेलाडी सहभागी हुने महासचिव घिमिरेले जानकारी गराए। जोरखानेमा ७ र कुस्तीमा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। जसमा ११ एकल र १ समूह इभेन्ट्स समावेश गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको भारतका खेलाडी आज बेलुकी आइपुग्ने तथा भुटान, माल्दिभ्स र अफगानिस्तानका खेलाडी शुक्रबार बिहानसम्म आइपुग्ने छन।

नेपालबाट सुमिर साह, मुकेशकुमार ठाकुर, कुन्दन साह तुराहा, रोहित महर्जन, रोजन महर्जन, राजु महर्जन र रोजित महर्जनले प्रतिस्पर्धा गर्नेछन्। दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell