काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपकाे खेलअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ।
हङकङको मिसन रोड ग्राउण्डस्थित मोङ कोकमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पूरै ५० ओभर खेल्दै १० विकेट गुमाएर १९४ रन रन बनायो।
नेपाली स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले हङकङलाई दबाबमा राख्यो। नेपालका लागि सन्दीप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले २-२ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै ४८ रन खर्चेर ३ विकेट लिएका हुन्।
सुरुवातको चार ओभर मेडन राख्दै हङकङलाई दबाबमा राखेको नेपालले त्यसपछि ओपनर अंशुमान रथलाई शुन्यमा करण केसीले आउट गरेपछि हङकङको नियमित अन्तरमा विकेट झरेको हो।
हङकङका लागि ओपनर जेमी एट्किन्सनले सर्वाधिक ७६ रन बनाए। ११७ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे। यस्तै तनविर अफजलले ४२ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३८ रन बनाए। कप्तान बाबर हायतले दीपेन्द्र ऐरीको बलमा रनआउट हुनु अघि २६ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २९ रन बनाए।