
वीरगंज : तिहार तथा छठ पर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटाका भित्र्याउने क्रम सुरु भएको छ।
नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करहरुले लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने गरेका छन्।
तस्करले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, ठोरी, सिर्सिया तथा बाराको मटिअर्वा, सिम्रौनगढ, कचौर्वालगायतका नाकाबाट पटाका ल्याउने गरेका छन्।
प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटाकाको व्यापार गर्ने गरेको पाइएको छ।
क्यारियरवालाले भारतको रक्सौललगायतका भारतीय बजारबाट पटाका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पुर्याएरबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पुर्याएबापत अधिकतम २०० प्रतिशतसम्म लिने गरेको वीरगंजकाे मीनाबजारमा भेटिएका एक व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।
पटाका नेपाल भित्रिने गरेकोबारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीले भेटृाएसम्म पटका भने समात्ने गरेको दावी गर्दै आएका छन्। खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन जिप, कार, टाँगालगायतका सवारीसाधनमा पटाका लुकाइछिपाइ ल्याउने गरेकाे पाइएको छ।रासस