काठमाडौँ : कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा अन्तर्राष्ट्रियस्तरको पुस्तक संख्या (आइएसबीएन) मा अहिलेसम्म ४२ हजार ५१४ पुस्तक दर्ता भएका छन्।
नेपालबाट प्रकाशित हुने पुस्तकलाई अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि आइएसबीएन नम्बर अनिवार्य रुपमा लिनुपर्ने हुन्छ।
पुस्तक प्रकाशकले आइएसबीएन प्राप्त गरेपछि पुस्तकलाई विश्वबजारमा किनबेच गर्न सकिन्छ।
आइएसबीएनको व्यवस्थाले नेपालबाट के कति पुस्तक प्रकाशित भए भनेर अभिलेख राख्नसमेत सहज हुन्छ।
सन् २००० मा नेपालले यसको सदस्यता प्राप्त गरेको थयो। त्यसबेला इन्टरनेसनल स्टाण्डर्ड बुक नम्बरको केन्द्रीय कार्यालय जर्मनीमा थियो।
केन्द्रीय पुस्तकालयले प्रक्रिया पुर्याएर आउने प्रकाशकलाई त्यस्तो नम्बर वितरण गर्दै आएको केन्द्रीय पुस्तकालयका कमलबहादुर कायस्थले जानकारी दिए।
विसं २०५६ माघ २२ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आइएसबीएनको शुभारम्भ गरेका थिए।रासस