काठमाडौं: मण्डला नाटकघरमा मञ्चन भएको नाटक ‘लाटीको छोरो’ पूर्वमा देखाइने भएको छ। आउँदो कार्तिक २५ गतेबाट १० दिनसम्म नाटक पूर्वका विभिन्न स्थानमा मञ्चन हुने भएको हो।
यस नाटकलाई पूर्वको विर्तामोडमा कार्तिक २५ गतेदेखि २९ गतेसम्म मञ्चन गर्ने तयारी रहेको नाटकको प्रोडक्सन डिजाइनर प्रकाश दाहालले जानकारी दिए। त्यस्तै मंसिर १ र २ शिवसताक्षी नगरपालिकाको दुधेमा मञ्चन गर्ने तयारी रहेको बताए भने शिवसताक्षीपछि दमकमा नाटक युनिट पुग्ने योजना रहेको सुनाए।
श्याम शाहको कथा ‘लाटीको छोरो’लाई नाट्य रुपान्तरण गरेर तयार पारिएको यो नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन्। उनले यसअघि ‘बोक्सीको घर’ र ‘बिलगेट्स पण्डित’ नाटक निर्देशन गरेका थिए। नाटकमार्फत् अभिनेता टीका पहारी ४१ वर्षपछि नेपाली रंगमञ्चमा फर्किएका हुन्। यो नाटकमा पहिलो पटक नेपाली रङ्गमञ्चमा प्रोडक्सन डिजाइनको अभ्यास गरिएको छ। प्रोडक्सन डिजाइनको काम कलाकार प्रकाश दाहालले गर्दैछन्।
प्रोडक्सन डिजाइनरले नाटकको सेट, लोकेसन, प्रकाश, कलाकारलगायत नाटक निर्माणका सम्पूर्ण प्रक्रियामा सिर्जनात्मक ढंगले डिजाइन गर्ने काम गर्छ। असोज ८ गतेसम्म मण्डलामा नाटक मञ्चन हुनेछ। नाटकमा अन्य कलाकार सन्दिप पौडेल, कुन्दन थारु, कुसल पाण्डे, रोसन सुवेदी, प्रकाश दाहाल, राजन काफ्ले, पशुपति राई, सुदिप खतिवडा, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले समेत अभिनय गरेका छन्।