PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रचण्डले निर्वाचन आयोग पुगेर भने–प्रधानमन्त्रीको प्रतिबद्धता हाम्रो पनि प्रतिबद्धता



रमेश वाग्ले

प्रचण्डले निर्वाचन आयोग पुगेर भने–प्रधानमन्त्रीको प्रतिबद्धता हाम्रो पनि प्रतिबद्धता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्धारित मितिमै निर्वाचन गराउने प्रधानमन्त्रीको प्रतिबद्धता आफ्नो पनि प्रतिबद्धता भएको बताएका छन्। 

नेकपा एमालेसहितका दलसँग एकीकरणको प्रक्रियाअघि बढाएपछि प्रधानमन्त्रीसँग टाढिएका अध्यक्ष प्रचण्डले आज भने प्रधानमन्त्रीको भनाईलाई नै आफ्नो भनाई भएको बताए। 

निर्वाचन आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका अध्यक्षहरुलाई डाकेर ‘हामी समयमै निर्वाचन गराउन र निर्वाचन अवधिलाई मर्यादित बनाउन प्रतिबद्ध छौं’ भन्ने प्रतिबद्धतामा हस्ताक्षर गराउन बैठक डाकेको थियो। 

निर्वाचन आयोगले प्रतिबद्धताअघि आयोगले गरेको प्रगति र भएका तयारीबारे जानकरी दिँदै दलहरुबाट पनि प्रतिबद्धता खोजेको थियो। 

आयोगको छलफलमा प्रधानम्नत्री देउवाले विगत तीन चरणको स्थानीय तह निर्वाचनका लागि आयोगलाई धन्यवाद दिँदै अब हुने निर्वाचनमा पनि त्यसरी नै सफलता प्रप्त गर्न शुभकामना दिए।  

‘सरकार तोकिएको मितिमा निर्वाचन गराउन प्रतिबद्ध छ तपार्इहरु आफ्नो कार्यतालिका अनुसार अघि बढ्नुहोस्’ प्रधानमन्त्रीले आयोगको छलफलमा भने, ‘सरकारबाट हुने सबै कुरा तपाइँहरुलाई सहयोग हुन्छ। निर्धक्कसँग आवश्यक कुरा भन्नुहोस।’ प्रधानमन्त्रीले छोटो भनाई राखेर आफ्नो मन्तव्य टुंग्याएका थिए। 

प्रधानमन्त्रीपछि माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले प्रतिबद्धता राखेपछि हाम्रो पनि त्यही हो भन्दै समर्थन जनाएका थिए।

‘प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रतिबद्धता राखिसकेपछि हामीले थपिरहनु परेन। हाम्रो पनि त्यही हो, प्रचण्डले भने, ‘अब तपार्इहरु निर्वाचन गराउनका लागि अघि बढ्नुहोस।’

उनले निर्वाचनमा प्रचारलाई व्यवस्थित र मर्यादित बनाएर आचारसंहिताको पालना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले तोकेको सीमा भित्र बसेर निर्वाचनमा भाग लिन आफ्नो पार्टी तयार रहेको बताए। उनले आयोगले तोकेको सीमामा रहेर खर्च गर्ने तथा आचारसंहिताको पूर्ण परिपालना गर्ने बताए। 

‘प्रत्यक्षभन्दा पछि समानुपातिकको बन्द सूची बझाउने व्यवस्था नहुँदा केही अफ्ठेरो भएको छ। तर हामी तोकिएकै मितिमा बन्दसूची बुझाउने तयारीमा झुटिरहेका छौं,’ एमाले अध्यक्ष ओलीले भने, ‘निर्वाचनमा आयोगले तोकेको प्रत्यक्षतर्फ प्रतिनिधि सभाका उम्मेदवारको २५ लाख र प्रदेश सभाका लागि १५ लाख खर्च सीमा पनि हामी पालना गर्ने छौं।’ उनले प्रधानमन्त्रीबाट आएको प्रतिबद्धताका लागि समेत खुसी व्यक्त गरेका थिए। 

आयोगले प्रस्तुत गरेको प्रतिबद्धतामा हस्ताक्षर गर्दै राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र नयाँ शक्तिले पनि हस्ताक्षेर गरेका थिए। 

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आचारसंहिताको उल्लंघन सत्तारुद्धबाट बढी हुने भन्दै त्यसलाई नियन्त्रण गर्न आयोगको ध्यानाकर्षण गराए। 

प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले आयोगको निमन्त्रणा स्वीकार गर्दै आएकोमा प्रधानमन्त्री र दलका नेतालाई धन्यवाद दिंदै आफूले जनाएको प्रतिबद्धतामा प्रतिबद्ध रहन आग्रह गरेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell