
काठमाडौं : धुम २, लिला, मेरो पैसा खोइ? लगायतका फिल्महरु सिनेमा घरहरुसँगै डिस होममार्फत पनि एकसाथ रिलिज भए। डिजिटल टिभी रिलिज गरेपछि निर्मातालाई केही आर्थिक राहत मिलेको बताए मेरो पैसा खोइ? निर्माता रोज राणाले।
लगत्तै फिल्म 'रुद्रप्रिया' युनिटले फिल्मको प्रचारमा हल र डिजिटल टिभीमार्फत एकसाथ फिल्म रिलिज हुने बताउन थाल्यो। तर चलचित्र संघले फिल्म हलसँगै डिजिटल माध्यममार्फत रिलिज गर्न नमिल्ने बतायो। अहिले यही विषयमा विवाद चल्दो छ। व्यवसायिक रुपमा सेफ साइडमा बस्न डिजिटल टिभी राम्रो माध्यम बन्दा फिल्म 'ऐश्वर्या' निर्माण युनिटले भने फरक धारणा व्यक्त गर्यो।
फिल्मका प्रस्तुतकर्ता रहेका रमेश उप्रेतीले भने,'जुन प्रविधिको प्रयोगमा क्वालिटी फिल्म बनाइन्छ त्यसको स्टान्डर टिभीमा मेन्टेन हुन्छ जस्तो लाग्दैन।' उनले फिल्मको भिडियो क्वालिटी हलको पर्दा टार्गेट गरेको हुनाले फिल्म ठूलो पर्दामै रिलिज गर्दा राम्रो हुने बताए। 'तर हामी डिजिटल टिभी रिलिजको विरोधमा भने छैनौं। निर्माताको लागि त राहतको एकदम राम्रो माध्यम बनेको छ यो। हामीले एकसाथ रिलिज बारे मात्र केही नसोचेका हौं।'
त्यस्तै फिल्मका सहनिर्माता तथा कलाकार रहेका निर्मल शर्मा पनि डिजिटल टिभी रिलिजको पक्षमा छौं। 'ऐश्वर्य'को प्रिमियर हल र टिभीमा एकसाथ गर्न नचाहेका मात्र हौं। फिल्मको प्रतिक्रिया हेरेर एक, दुई साताको अन्तरालमा टिभी रिलिज बारे पनि केही त सोचेका छौं। 'एक करोड ग्रस कलेक्शन गर्दा पनि लगानी उठाउन धौं धौं पर्ने अवस्थामा डिसहोम लगायतका अन्य टिभीले फिल्म प्रदर्शनमा सहयोग गर्नु नेपाली फिल्मको उद्योगलाई अझ व्यवसायिक बन्न साथ दिनु हो।'