
जुम्ला : मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा नेकपा माओवादी केन्द्रलाई उम्मेदवार छान्न सकस परेको छ।
दर्जनौँ स्थानीय पार्टी नेता कार्यकर्ताले उम्मेदवार हुने आकांक्षा राखेपछि उम्मेदवार टुंगो लगाउन सकस भएको हो।
बाम एकता पछिको निर्वाचन क्षेत्र निर्धारण समितिको निर्णयले जुम्ला माओवादीको भागमा प्रतिनिधि सभा हात परेको करिब निश्चित छ भने क्षेत्र नं १ को प्रदेश सभा पनि माओवादीकै हातमा पर्ने देखिन्छ।
बाम चुनावी तालमेल अघिदेखि नै ६ नं प्रदेशको मुख्यमन्त्रीमा लविङ गर्दै आएका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेश भण्डारी र प्रतिनिधि सभामा पोलिटब्यूरो सदस्य गजेन्द्र महतको उम्मेदवारी झण्डै नजिक पुगेको स्रोतले जनाएको छ। तर टुंगो भने लागिसकेको छैन।
माओवादी केन्द्र जुम्लाभित्रै दुई खेमा देखिएको छ। उम्मेदवारका आकांक्षी सबै काठमाडौं केन्द्रीत छन्। केन्द्रका जुम्ला संयोजक वीरबहादुर कुँवरले ३८ जनाको नाम पार्टी प्रदेश कार्यालयमा पेश गरेको नामावली प्रकाशमा आएपछि केन्द्रका जुम्ला इञ्चार्ज नवराज न्यौपानेले विज्ञप्ति जारी गरी प्रेषित नामावली भ्रामक र झुठो भएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘प्रेषित नामावली जनताको मर्म, भावना र संगठनको स्थापित पद्दति विपरित छ। यसप्रति बहुमत केन्द्रीय आयोजक समितिका सदस्यको असहमति रहेको छ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ८ गते जुम्लाको सिंजामा पुगेर नवप्रवेशी पूर्णप्रसाद धिताललाई जुम्ला २ नं क्षेत्रबाट प्रदेशसभा सदस्यको टिकट घोषणा गरेका थिए। तर अहिले घोषणा गरिएको धितालको टिकट वाम एकताका कारण प्रभावित बन्ने सम्भावना पनि त्यत्तिकै देखिएको छ।
स्रोतकाअनुसार सिंजा भेगमा पर्ने जुम्लाको २ नं क्षेत्रका लागि प्रदेश सभा सदस्यको टिकट भने नेकपा एमालेलाई निश्चित हुने देखिएको छ।
उम्मेदवार छान्ने होडबाजीले भने माओवादी केन्द्रभित्र भएको चरम गुटबन्दीको विवाद सामाजिक सञ्जालमा पनि देखिएका छन्।रासस