PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

म्याच फिक्सिङ अनुसन्धानमा सघाएको भन्दै एएफसीले सम्मान गर्‍यो नेपाल प्रहरीलाई



पहिलोपोस्ट

म्याच फिक्सिङ अनुसन्धानमा सघाएको भन्दै एएफसीले सम्मान गर्‍यो नेपाल प्रहरीलाई

काठमाडौं : एशियाली फुटबल महासंघ (एएफसी)ले नेपाली फुटबलमा भएको म्याच फिक्सिङको अनुसन्धानमा महत्वपूर्ण सहयोग गरेको भन्दै महानगरीय अपराध महाशाखालाई शुक्रबार सम्मान गरेको छ।

म्याच फिक्सिङ प्रकरणको नेतृत्व लिदै अनुसन्धान गरेका नेपाल प्रहरीका डिआईजी सर्वेन्द्र खनाल र सुदीपराज पाठकलाई एएफसीका महासचिव डाटो विण्डरसन जोनले सम्मान गरे।

सन् २०१५ डिसेम्बर ४ मा एएफसीको डिसिप्लिनरी र इथिक्स कमिटीले म्याच फिक्सिङमा संलग्न नेपालका चार खेलाडी र एक अफिसियललाई आजीवन प्रतिबन्ध लगाएको थियो।

अफिसियल अञ्जन केसी, तथा चार खेलाडीहरु तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री एएफसीको डिसिप्लिनरी र इथिक्स कोड उल्लंघन गरेको आरोपमा दोषी ठहर भएका थिए।

एएफसीले स्पोर्टराडार, नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा र युईएफएको इन्टिग्रिटी कमिटीको सहयोगमा एक वर्ष लामो अनुसन्धान पछि खेलाडी तथा अफिसियललाई प्रतिबन्ध लगाएको थियो।

नेपाल प्रहरीका तत्कालिन एसएसपी सर्वेन्द्र खनालले नेतृत्व लिएका यस अनुसन्धानमा तत्कालिन प्रहरी निरीक्षक सुदीपराज पाठकको भूमिका पनि थियो।

 ‘डिआइजी खनाल र डिएसपी पाठकलाई एएफसी हाउसमा स्वागत गर्न पाउनु सम्मान हो।‘ एएफसी महासचिवले विण्डरसनले भनेका छन्। सन् २०१५ मा नेपालमा महत्वपूर्ण म्याच फिक्सिङ केसको अनुसन्धान गर्न उनीहरु महत्वपूर्ण हतियार हुन्।‘

 ‘२०१५ को केसकै कारण नेपाल सरकारले म्याच फिक्सिङलाई अपराधको रुपमा परिभाषित गरेको सुनेर म निक्कै प्रशन्न भएको छु। यो सकरात्मक सुरुवात हो।‘

म्याच फिक्सिङविरुद्ध लड्नका लागि एएफसी इन्ट्रेगेटी युनिट र नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सफल सहकार्य एउटा माइलस्टोन भएको एएफसीले उल्लेख गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell