PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

एनआरएन अभियान : धनाड्यको क्लब, मनमुटावको केन्द्र



विष्णुहरि घिमिरे

एनआरएन अभियान : धनाड्यको क्लब, मनमुटावको केन्द्र

काठमाडौं : आसन्न निर्वाचनमा वाम तालमेलले तताएको काठमाडौंमा अहिले गैरआवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलन र चुनाव पनि गर्माएको छ। अझ भनौं समाजिक सञ्जाल, चोक, होटलमा गफको अर्को एजेण्डा थपिएको छ। 

'विदेश जानेले प्राप्त गरेको सीप र पुँजीलाई एकिकृत गरी नेपालको लागि उपयोग गर्ने,' शुरुका वर्षमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले दोहोर्याउने शब्द। त्यसबेला सुन्दा 'वाह' नै भन्ने लाग्थ्यो। राजनीतिक दलको उधारो आश्वासन, मुलुकमा चर्कदो द्वन्द्वबाट आजित नेपाली लाहुरेहरुले बारेमा साँच्चै गज्जब गर्ने पनि परेको थियो। तर, दिन बित्दै जाँदा यी सबै लाहुरेको पनि गफै त हो नि भन्ने पर्न थालेको छ। 
पछिल्लो चरणमा नेपाललाई दिनेभन्दा पनि मुलधारमा पहुँच बढाउने भर्याङ बन्न थालेको छ एनआरएन। अझ ठूलो चिन्ता अर्काको देशमा गरिखाएका नेपालीमा मनमुटावको कारण भएको छ। 

नेपाली राजनीतिमा २०४६ सालको परिवर्तनपछि एकाध वर्ष गाँउघरमा डरलाग्दो विचलन देखियो। राजनीतिक आस्थाका आधारमा सामाजिक जीवनलाई भताभुङग पारिदियो। राजनीतिक दलको सिद्धान्तलाई पछ्याउँदा कयौंका घरबार प्रभावित भयो। समाज कांग्रेस र कम्युनिष्ट दुर्इ कित्तामा विभाजित हुँदा जन्मदेखि मरणसम्मका संस्कारमा पानी बाराबार भयो। कांग्रेसको मलामी कम्युनिष्ट नजाने, कम्युनिष्टको मलामी कांग्रेस नजाने। मेलापर्व पनि राजनीतिक आधारमा हुन थाल्यो। 

नेपालमा हट्दै गएको यो रोग अहिले प्रवासमा देखिएको छ, एनआरएनको नाममा। प्रवासी नेपालीलाई ध्रुवीकरण गरेको छ। एकले अर्कोलाई आरोप लगाउने, एकले अर्कोलाई निषेध गर्ने। नेपालमा दलगत राजनीतिभन्दा चर्को ध्रुवीकरण। अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान जहाँ पनि नेपाली एनआरएनको नाममा विभाजित छन्। अमेरिकामा लगभग तीन लाख नेपाली बसोबास गर्छन तर, जम्मा १५ हजार मात्र एनआरएनको सदस्य बनेका छन्। त्यो पनि विवाद मुक्त हुन सकेन। 

एनआरएनले न विदेशका नेपालीको मन जोड्न सकेको छ न नेपालको आश्वासन पूरा गर्न। प्रवासमा रहेका नेपालीको ठेक्का लिएर केही धनाड्यहरुका लागि नेपालमा व्यापार व्यावसायका लागि बार्गेनिङ गर्ने गतिलो हतियार भएको छ। अनि जोसँग मगन्य पुँजी छैन, उसले राजनीतिक हिस्सा खोज्ने। 

देश अहिले मरुभूमिमा पसिनासँग साटेको रकमले चलेको छ। नेपाल भित्रने रेमिट्यान्सको तथ्यले त्यो स्पष्ट देखाउँछ। यूरोप अमेरिकामा बस्ने आम नेपालीले त्यतै आफूलाई सेटल गराउने ट्रेन्ड छ। एकाधलाई छोड्ने हो भने नेपालमा भएको बेचबिखन गरेर त्यता सम्पत्ति जोड्न प्रतिस्पर्धा नै चल्ने गरेको छ। अरबमा रहेकालाई त्यो सुविधा छैन। कुनै पनि हालतमा नेपाल नै जानुपर्ने भएकाले जति कमाउँछन नेपाल नपठाइ सुख छैन। तर, एनआरएन ती अरबमा पसिना बगाउनेका लागि होइन। मसँग यति पैसा छ, नेपालमा ल्याए के फाइदा भनेर बार्गेनिङ्ग गर्नेहरुले एनआरएनको नाम भजाएका छन्। यूरोप अमेरिकामा सामान्य काम भए पनि गर्ने र अरबमा उच्च ओहोदामा रहेकालार्इ गरिने व्यावहार हवार्इ यात्रादेखि विमानस्थल र समाजमा समेत आकास पातलको फरक छ। जसको पसिनाले देश पालिएको छ उनैलाई सस्तो मजदुर भनी हेप्छन्। 

आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवा समग्र नेपालीको नाममा केही धनाड्यहरुको क्लब भन्न रुचाउँछन् एनआरएनलाई। उनी थप्छन, 'केही धनाड्यले आफ्नो लगानी विस्तार र  प्रतिष्ठा बडाउने नाममा प्रवासी नेपालीको दुरुपयोग र विभाजन गरेका हुन्।'

अमेरिकामा रहेका अभिनव अधिकारीले एनआरएनलाई राजनीतिक पार्टीको संज्ञा दिँदै आफू अब त्यसको सदस्य नरहने फेसबुक स्टाटस लेखेका छन्। 'साँच्चै पैसावालले आफ्नो स्वार्थपूर्ती गर्न, नेपालमा आफ्नो लगानी व्यावस्थापन गर्न, राजनीतिक हेलमेल बढाउन, खादा लगाउन, विदेशमा कमाएको पैसा नेपालमा सुरक्षित गराउन मात्र खोलिएको भन्ने कुरा यस संस्था उत्पत्ति भएदेखि नै जग जाहेर छ।'

ढिलै भए पनि  एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले वास्तविकता स्वीकारेका छन। 'मुलतः साझा संगठनको सवाल, चरित्र एवं भूमिकाकै हकमा, एनआरएन सबैभन्दा बढी चुकेको छ। मातृभूमिको राजनीतिक, सामाजिक स्वरुप जस्तो छ अहिले। त्यस्तै छ गैरआवासीय नेपाली संसारको तस्वीर। 

एनआरएन विश्व सम्मेलनकै लागि हाल नेपालमा रहेका पौडेलले एक लेखमा भनेका छन्, 'बेलायतदेखि बेल्जियमसम्म, मेरिल्यान्डदेखि मेलबर्नसम्म, दोहादेखि सिउलसम्म, गैरआवासीय नेपाली समाज राजनीतिक, सामाजिक, क्षेत्रीय, जातीय एवं आर्थिक रुपमा विभाजित छन्। जुन एनआरएनए अभियानको सबैभन्दा घातक परिदृश्य हो। यो विषयलाई उचित सम्बोधन गर्ने बेला आएको छ। 

विदेशमा रहेका नेपालीले राजनीतिक संस्कारका बारेमा ठूलै प्रवचन दिने गर्छ। नेताले संस्कार दिन नसकेको कुरा तारे होटलमा ह्वीस्कीको चुस्कीमा पटक पटक दोहोर्याउँछ तर, व्यवहारत उनीहरु नेपालका नेताभन्दा कम पारदर्शी छन्। 

एनआरएन आन्दोलनमा जमुना गुरुङ्गको  योगदान कम नहोला तर, जसरी उनलाई अध्यक्षको उमेदवार बनाइएको छ। त्यसले जति नै वर्ष विदेशमा बसे पनि नेपलीले आफूलाई सुधार गर्न सक्दैनन् भन्ने प्रष्ट देखाएको छ। शक्ति आफै वरिपरी राख्ने।  

राजनीतिक दलहरुको कागजी घोषणापत्र र झुट्टा आश्वासनले आजित भएका नेपालीलाई एनआरएनको नाममा सपना बाढेर उनीहरुको भावनामाथि मज्जाक गर्ने क्रम बढेको छ। अझ भनौं न छुट्टी मनाउन र ठूला कुरा गर्ने। के दशैं मान्न जाँदा गफ चुट्ने थलो हो एनआरएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell