PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

यातायात कार्यालयले भक्तपुरमा थाल्यो लाइसेन्सका लागि ट्रायल परीक्षा, शुल्क नलाग्ने



पहिलोपोस्ट

यातायात कार्यालयले भक्तपुरमा थाल्यो लाइसेन्सका लागि ट्रायल परीक्षा, शुल्क नलाग्ने

भक्तपुर : यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा सञ्चालन गरेको छ। 

भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा भने आजबाट सञ्चालन गरेको हो। 

भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहजरुपमा सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित इजी वे ट्रायल सेन्टर प्रालिसँग सम्झौता गरेको चार महिनापछि कार्यालयले भक्तपुर कार्यालयमा लिखित परीक्षा उत्तीर्ण गरेका नागरिकले भक्तपुरबाटै लाइसेन्सको ट्रायल परीक्षा दिन पाउने भएका हुन्। 

कार्यालय प्रमुख अनोज घिमिरेले दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन अब काठमाडौँ जानु नपर्ने भएको बताए। उनले भने,‘आजबाट भक्तपुरबाटै दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा लिन सुरु गरेका छौँ, केही समय पछि चारपाङ्ग्रे सवारीको पनि सुरु गर्नेछौँ।’

आज पहिलो दिन ३७७ जनाले दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको परीक्षा दिएका उनले जानकारी दिए। 

भक्तपुरको थिमिस्थित राधेराधेमा रहेको इजी वे ट्रायल सेन्टर प्रालिले सम्झौताअनुसार निःशुल्क ट्रायल परीक्षा सञ्चालन गर्न दिएको उल्लेख गर्दै प्रालिका प्रमुख निर्भयबाबु प्रसाईंले साधन प्रयोग गर्न दिएबापतको रकम समेत नलिई निःशुल्क दिएको बताए। 

यातायात व्यवस्था कार्यालयले काठमाडांैं र ललितपुरमा सञ्चालित ट्रायल सेन्टरमा भने भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरले सवारीसाधन उपलब्ध गराएबापत सर्वसाधारणसँग शुल्क उठाउने गरिए पनि यहाँ भने निःशुल्क व्यवस्था गरिएको छ । 

भक्तपुर कार्यालयमा दैनिक ३०० भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरेका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell