
काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौँ चरणको दोस्रो खेलमा नेपालले आइतबार हङकङसंग खेल्दैछ। पहिलो खेलमा ८३ रनको हार बेहोरेको नेपालका लागि दोस्रो खेल 'गर या मर'को अवस्थामा छ।
यो खेलमा पनि पराजित भए नेपालको शीर्ष चारमा पर्ने सम्भावना अन्तिम चरणको खेल खेल्नुअघि नै समाप्त हुनेछ। यही नेपालले जित हासिल गरेको खण्डमा भने शीर्ष चारको सम्भावना केही बाँकी रहन्छ तर त्यसका लागि अन्य खेलको नतिजा निर्णायक हुनेछ।
यस्तै हङकङमा शनिबार देखि आएको समुन्द्री आँधी (टाइफुन) आइतबार पनि जारी रहे खेल रद्द हुने सम्भावना समेत रहेको छ। खेल रद्द भए दुवै टोलीले १ अंक बाँड्नेछन् र नेपाल शीर्ष चारको होडबाट बाहिरिनेछ।
च्याम्पियनसिपमा रहेका ८ मध्ये शीर्ष चार स्थानमा रहने टोली अर्को वर्ष मार्चमा जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुनेछ भने बाँकी चार टिम डिभिजन टूमा घटुवा हुनेछ।
तर डिभिजन टू मा झरेपद्दि वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने सम्भावना भने बाँकी नै रहन्छ। च्याम्पियनसिपबाट घटुमा हुने चार टोली र अहिले डिभिजन टूमा रहेका क्यानडा र ओमानबीच प्रतियोगिता हुनेछ र त्यसको शीर्ष दुई टोली पनि वान डे वर्ल्ड कप क्वालिफायरमा छानिनेछन्।