काठमाडौं : आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गर्ने कार्य सुरु भएको छ।
कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन एकाइमा आज बिहान १० बजे सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ उम्मेदवारको बन्दसूची पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
त्यस्तै, नेपाल समाजवादी पार्टी (लोहियावादी)ले दुई नम्बर प्रदेश सभाका लागि ४१ जनाको नाम बन्दसूचीमा पेश गरेको छ।
आयोगका अनुसार राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका छ।
दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानूनी व्यवस्था छ। रासस