PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'टिट फर ट्याट' रणनीतिमा देउवा : अल्टरनेटिभ मुभका लागि माओवादी तयार



रमेश वाग्ले

'टिट फर ट्याट' रणनीतिमा देउवा : अल्टरनेटिभ मुभका लागि माओवादी तयार

काठमाडौं : निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता साझेदार नेकपा माओवादीले गरेको एमालेसँगको एकता प्रयासले माओवादीलाई अन्तत: प्रतिपक्षमै पुर्याउने भएको छ। सत्ता साझेदारलाई थाहै नदिई प्रतिपक्षसँग एकता प्रयास अगाडि बढाएपछि रुष्ट बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले 'टिट फर ट्याट' को रणनीतिमा उभिँदैछन्। माओवादीले सरकारलाई रहेको समर्थन कायम रहनेभन्दा भन्दै माओवादी विनै सरकारका पक्षमा बहुमत जुटाएर बसेका प्रधानमन्त्री देउवाले शनिबार नै राप्रपाका चार मन्त्रीलाई सपथ ग्रहण गराए। 'सरकारलाई संसदको बहुमतका लागि माओवादी समर्थन आवश्यक छैन' भन्ने स्पष्ट जवाफ दिइसकेका छन् सार्वजनिक रुपमा। 

प्रधानमन्त्रीले स्पष्ट जवाफ दिइसक्दा समेत माओवादी केन्द्रले भने पार्टीको बैठक नै डाकेर सरकारलाई दिएको समर्थन र सरकारमा रहेका मन्त्रीहरु समेत फिर्ता नहुने निर्णय सार्वजनिक गरिरहेको छ। सरकारको नेतृत्व गरेको पार्टीले व्यवहारबाटै सरकारलाई समर्थन आवश्यक छैन भन्दै निर्वाचन आचार संहितालाई वैशाखी बनाएर सरकारमा बसिरहने र निर्वाचनमा प्रतिपक्षी मोर्चा र सत्ताको शक्ति दुवै प्रयोग गर्ने रणनीतिलाई चिर्न प्रधानमन्त्रीलाई दबाव बढिरहेको छ। त्यही दवावको सम्बोधनका लागि राप्रपाका मन्त्रीहरुलाई सपथ गराएका प्रधानमन्त्रीले आजसम्म राप्रा मन्त्रीहरुलाई विभागीय जिम्मेवारी तोकेका छैनन्। 

'माओवादीलाई स्पष्ट सन्देश गइसकेको छ, हिजोसम्मको सत्ता साझेदार माओवादीलाई चिढ्याउने गरी उसका मन्त्रीहरुलाई बर्खास्त गर्ने मुडमा प्रधानमन्त्री हुनुहुन्न थियो,' कांग्रेसका एक नेताले भने, 'अबको केही दिनमा पनि उहाँहरुले आवश्यक निर्णय गर्नुभएन भने प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुको विभागीय जिम्मेवारी तोक्नुहुन्छ। उहाँहरुलाई उचित जिम्मेवारी पनि तोक्नुहुन्छ।'  

ती नेताले माओवादीसँगको अहिलेको सम्बन्ध जटिल प्रकृतिको भएको भन्दै उनीहरुलाई चिढ्याउनेभन्दा पनि राजनीतिक व्यवहार गर्ने मनस्थितिमा प्रधानमन्त्री रहेको जानकारी दिए। 

माओवादी मन्त्रीहरुले पनि प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुको सपथ गराएपछि 'पर्ख र हेरको रणनीति' अख्तियार गरेका छन्। उनीहरु आज प्रधानमन्त्रीको कदम हेरेर भोलिसम्म एउटा निर्णयमा पुग्ने तयारीमा छन्। 

'प्रधानमन्त्रीले जब राप्रपाको समर्थन लिएर उनीहरुसँग मन्त्रालयको भागवण्डाका विषयमा कुराकानी गर्न थाल्नुभयो त्यही दिनदेखि हाम्रा मन्त्रीहरु आवश्यक तयारीका साथ बसिरह्नुभएको छ,' एक माओवादी नेताले भने, 'त्यो तयारी के हो भन्नेबारे निर्णयसँगै थाहा पाउनुहुने छ।' ती नेताले प्रधानमन्त्रीले विनाविभागीय बनाउनेसम्मको निर्णयमा पुग्न नभ्याउने भन्दै त्यस अघि नै राजीनामा दिने संकेत गरे। 

आजै निर्णय आउन सक्छ? भन्ने प्रश्नमा ती नेताले आजै त्यो निर्णय नआउने बताए। 

माओवादी मन्त्री भने मन्त्रालय पुगिरहेका छन्। स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले विहानै मन्त्रालय पुगेर केही बेर बसेपछि क्वाटरमै आन्तरिक छलफलमा व्यस्त भएको बताए। 

'आज हामी समानुपतिकको सूची निर्वाचन आयोगमा बुझाउने तयारीका लागि व्यस्त छौं। त्यसैले आन्तरिक छलफलमै जुटिरहेका छौं,' पोखरेलले भने, 'आन्तरिक काम सकेपछि हामी अन्य विषयमा सोच्ने अवस्थामा पुग्ने छौं।' उनले सरकारका विषयमा कुरा नगर्ने मनसाय प्रकट गरे। 

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा पनि बिहान १० बजेदेखि नै पुगेर मन्त्रालयकै काममा व्यस्त रहे। उनले पनि मन्त्रालयमा आफ्नो तयारीबारे केही जानकारी गराएका छैनन्। 

प्रधानमन्त्रीसहित कांग्रेसका वरिष्ठक नेताहरु समानुपातिकको सूचीलाई अन्तिम रुपमा दिन विहान देखि नै बालुवाटारमा व्यस्त रहेकाले सरकारका विषयमा सोच्ने फुर्सद् निकाल्न भ्याएका छैनन्। आज साँझ निर्वाचन आयोगलाई समानुपातिकको बन्द सूची बुझाउने तयारी गरेका देउवाले माओवादीबाटै राजनीतिक निर्णय कुरिरहेका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell