
बैंकक : थाइल्याण्डमा आगामी वर्षको नोभेम्बरमा आमनिर्वाचन हुने निर्वाचनमा सहभागिताका साथै निर्वाचनको वातावरण निर्माण गर्न सरकारले सबै राजनीतिक दललाई आग्रह गरेको छ।
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले सन् २०१८ को जुन महिनामा निर्वाचनको घोषणा गर्ने योजना सरकारले बनाएको जानकारी दिएका थिए। उनले जुन महिनामा निर्वाचन घोषणा गर्ने र नोभेम्बरमा निर्वाचन सम्पन्न गर्ने बताएका हुन्।
थाइल्याण्डको जुन्ता सरकारका प्रधानमन्त्री ओचाले निर्वाचनमा सबै राजनीतिक दललाई सहभागिताका लागि वातावरण निर्माण गर्न आग्रह गरेका हुन्।
थाइल्याण्डमा हाल सैनिक सरकार छ। प्रधानमन्त्री ओचा सन् २०१४ मा तत्कालनी प्रधानमन्त्री यिङलक सिनावात्रालाई अपदस्थ गरी सत्तामा आएका हुन्।
उनीमाथि प्रजातान्त्रिक तवरबाट नयाँ संसदीय निर्वाचन गर्न र यसका माध्यमबाट सैनिक सरकारले राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्नुपर्नेमा दबाब दिइँदै आइएको छ।
उनीमाथि निर्वाचन गरी नागरिकलाई सत्ता हस्तान्तरण गर्न ठूलो दबाब पर्दै आएकोले निर्वाचनको मिति सरकारले तय गरेको हो।
हाल यहाँका राजनीतिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाइएकाले पनि उनको आलोचना हुँदै आएको छ।
ओचाले राजनीतिक दलका क्रियाकलापहरुमा प्रतिबन्ध लगाइएकोमा उक्त प्रतिबन्ध फुकुवा गर्ने विषयमा आफूले बिचार गरिरहेको पनि बताएका छन्।
अपदस्थ प्रधानमन्त्री सिनावत्रालाई भने भ्रष्टाचारको मुद्दा लागेको छ। उनलाई पाँच वर्षको जेल सजायको फैसला हालै थाई सर्वोच्च अदालले सुनाएको थियो। हाल उनी दुबईमा निर्वासित भएर बसेकी छन्। रासस/सिन्ह्वा