
काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन्।
पार्टीको असोज २२ देखि २६ गतेसम्म सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वैद्यले आफूहरु निर्वाचनमा सहभागी नभए पनि साम्राज्यवादविरुद्ध लडेका प्रगतिशील शक्तिलाई सहयोग गर्ने स्पष्ट पारे।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने एकतालाई दक्षिणपन्थीबीचको एकता भएको टिप्पणी गर्दै वैद्यले नेकपा र राष्ट्रिय जनमोर्चासँग पार्टी एकता गर्नेबारेमा छलफल भइरहेको जानकारी दिए। ‘‘उहाँहरु र हामीबीच कैयौं कुरा मिल्दैनन्। तैपनि सच्चा कम्युनिष्ट पार्टीबीच एकीकरण गरौं भन्ने हो’ उनले भने, ‘‘पार्टी एकता गर्ने प्रयास जारी नै रहेको छ।’’
सम्मेलनले पार्टीको विधान परिमार्जन गर्दै महासचिव पद्धति अपनाउनाका साथै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको पार्टीका नेता हरिभक्त कँडेलले जानकारी दिए।रासस