PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

न्यायाधीश नहुँदा पर्सा जिल्ला अदालतमा सेवा ठप्प, बन्दीका मुद्दा पनि प्रभावित



राधेश्याम पटेल

न्यायाधीश नहुँदा पर्सा जिल्ला अदालतमा सेवा ठप्प, बन्दीका मुद्दा पनि प्रभावित

वीरगंज: सरुवा भएका नयाँ न्यायाधीश नआउँदा पर्सा जिल्ला अदालतको सेवा ठप्प भएको छ। न्यायाधीशहरु नआउँदा जिल्ला अदालतमा मुद्दाको फैसला, मिलापत्र्, बन्दीका मुद्दा समेत प्रभावित भएका छन्।

न्याय परिषदले भदौ २८ गते जिल्ला न्यायाधीशहरुको सरुवा गरेको थियो। तर, एक महिनाभन्दा बढी समयमा पनि न्यायाधीश तोकिएको कार्यालयमा नपुग्दा सेवा प्रभावित भएको हो। न्यायाधीश नहुँदा बन्दीप्रत्यक्षीकरण मुद्दा समेत सुनुवाइ हुन सकेका छैनन्।

अदालत खुलेको ८ दिन बितिसक्दा पनि पर्सामा सरुवा भएका ७ जना न्यायाधीशमध्ये दुइजना मात्रै हाजिर हुन आएका छन्।

दुइजना पनि आइतबारदेखि मात्र हाजिर भएको पर्सा जिल्ला अदालतले जनाएको छ। मुख्य न्यायधीश नागेन्द्रलाल कर्ण, र न्यायाधीश महेन्द्रबहादुर कार्की हाजिर भएको रजिष्ट्रार ठाकुरप्रसाद खरेलले बताए।

सरुवा सूची अनुसार न्यायाधीशहरु बद्री ओली, केशव घिमिरे, शंकर राई, सूर्यप्रसाद अधिकारी र लिलाराज अधिकारी छन्। उनीहरु सबै हाजिर हुन आएका छैनन्।

‘न्यायाधीशहरुको आउने क्रम सुरु भइसकेको छ। प्राविधिक कारणले ढिला भएको हुनसक्छ’ रजिष्ट्रार खरेलले भने।

न्यायाधीश नहुँदा अदालतको काम एक सातादेखि प्रभावित भएको र सेवाग्राही मर्कामा परेको अधिवक्ता पन्नालाल गुप्ता बताउँछन्। गुप्ताका अनुसार दशैँपछि अधिकांश सेवा प्रभावित भएका छन्।

न्यायाधीशको सरुवापछि पनि कतिपय न्यायाधीश स्थानीय निर्वाचनमा खटिएका कारण तोकिएको क्षेत्रमा जान ढिलाइ भएको हो। यस्तै, सरुवासँगै केही न्यायाधीश प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिएका छन्। मुख्य निर्वाचन कार्यालयको स्थापना आइतबारबाट नै भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell