
विराटनगर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले गठबन्धनसँग आपसी समझदारीमा सिटको तालमेल हुने सम्भावना रहेको भएपनि गठबन्धनमा भने नबस्ने बताए।
उनले लोकतान्त्रिक गठबन्धनमा बस्नका लागि राजनीतिको मूल मुद्दामा सहमति हुनुपर्ने नत्र अवसरवादीको संज्ञा दिइने उल्लेख गरे।
मन्त्रिपरिषद् विस्तार गरिनु गलत भएको भन्दै अध्यक्ष यादवले नेकपा माओवादी केन्द्र सत्तामा बसेर प्रतिपक्षसँग गठबन्धन गर्न नैतिकताले नदिने बताए।
आफ्नो दलले मधेशको दुई तिहाइ सिटमा जित हासिल गर्ने दाबी गर्दै यादवले प्रदेश नं २ मा सरकार बनाउने दाबीसमेत गरे।
अध्यक्ष यादवले आफू मोरङ वा अन्य कुन जिल्लाबाट चुनावमा उठ्ने विषयमा निर्णय नगरेको र केही दिनमै निर्णय गर्ने जानकारी दिए।रासस