काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने स्पष्ट पारेका छन्।
अखिल (क्रान्तिकारी) को पदाधिकारी बैठकलाई आज विहान सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासका सकारात्मक परिघटनाको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने बताए।
‘हामीले एमाले लगायतका कम्युनिष्ट र बामपन्थी समूहसँग पार्टी एकताको तयारी गरेका छौं । एकताको तयारीपछि कतिपय साथीहरुले जनयुद्धको भूमिका के हुन्छ ? महान् जनयुद्धमा बलिदान गरेका सहिदहरुको सम्मान हुन्छ कि हुँदैन ? बेपत्ताहरुको सम्मान कसरी हुन्छ ? जस्ता प्रश्न उठाउनु भएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलठूला बलिदान भएका छन्, संघर्ष भएका छन्। तीनै बलिदानी र संघर्षको बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । जनयुद्धसहित इतिहासका यी सबै घटनाहरुको सम्मान हुन्छ, संश्लेषण हुन्छ र इतिहासमा भएका सकारात्मक परिघटना र योगदानको सम्मानसहित पार्टी एकता हुन्छ।’
‘समाजवादको तयारी हाम्रो मिसन हो, त्यही मिसनमा जाने एकरुप समझदारीका साथ पार्टी एकता गर्ने भनेका छौं’, अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्न सकियो भने समाजवादको यात्रालाई कसैले रोक्न सक्दैन। हामीले सहमतिपत्रमा समाजवादी मिसनका आधारमा एकता गर्ने, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, सामाजिक न्यायजस्ता मुद्दाहरु संस्थागत गर्ने, उत्पीडित वर्ग, जाति र समुदायका जायज मागहरु सम्बोधन गर्न लोकतान्त्रिक, शान्तिपूर्ण र कानुनी संघर्षको बाटो अख्तियार गर्ने भनेका छौं। त्यसैले हामी वैचारिक रुपमा नयाँ संश्लेषणसहित एकतामा पुग्छौं।’
प्रचण्डले भने, ‘हामीले संघ र प्रदेशको निर्वाचनसम्म नेपाली कांग्रेसको सरकारलाई समर्थन गर्ने र निर्वाचन सम्पन्न गर्ने सहमति गरेका थियौं। सहमतिमा हामी अहिले पनि इमान्दार छौं। यो बीचमा प्रधानमन्त्रीले राप्रपाका नेताहरुलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ। हाम्रा मन्त्रीहरुको अवस्था के हुन्छ ? भन्ने चासो पनि व्यक्त हुन थालेको छ । आजै प्रधानमन्त्रीसँग भेट्छु, उहाँले चाहेको के हो? त्यसैका आधारमा हामी निर्णयमा पुग्छौं।’