काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्ने भन्दै त्यसको सही प्रयोग गर्न आग्रह गरेकी छन्।
सूचना सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पारदर्शीता र सुशासनले लोकतन्त्रलाई सुदृढीकरण गर्ने र राज्य बलियो हुने बताइन्।
राष्ट्रपति भण्डारीले लोकतान्त्रिक शासन प्रणालीमा संविधान र कानुनबमोजिम सरकारका प्रत्येक काम कारबाहीमा जनता सूचनाको हकदार हुन्छन् भन्ने भावनाका साथ काम गर्नु कर्मचारीको कर्तव्य भएको बताइन्।
नागरिक निगरानी र खबरदारीका लागि सूचनाको हक महत्वपूर्ण हुने उनले बताइन्।
राष्ट्रपति भण्डारीले जनतामा सूचनाको हकसम्बन्धी चेतना अभिवृद्धि गराउने राष्ट्रिय सूचना आयोगबाट भएका प्रयासको प्रशंसा गरिन्।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको विश्वव्यापी प्रचलनअनुसार सूचना आयोगलाई संवैधानिक हैसियत दिनुपर्ने बताए।रासस