
ब्रसेल्स : क्याटालोनियाको क्षेत्रीय सरकारले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको हो कि होइन भनी स्पेन सरकारले सोधेको प्रश्नको जवाफ स्पष्ट रुपमा दिन नसकेको जनाइएको छ।
स्पेनका विदेशमन्त्रीले क्याटालोनियाको क्षेत्रीय सरकारले त्यसको जवाफ नदिएको बताएका हुन्। स्पेनको मन्त्रिपरिषद्को विशेष बैठकपछि स्पेनका प्रधानमन्त्री म्यारियानो राजोएले क्याटेलोनियाको सरकारले त्यहाँ स्वतन्त्रताको घोषणा गरेको हो कि होइन भनी गत साता प्रश्न गरेका थिए।
स्पेन सरकारले पाँच दिनको समय राखेर प्रश्न गरेको थियो। सो म्याद सोमबार सकिँदैछ। क्याटालेनियाको सरकारले जनमत संग्रहको परिणामको हवाला दिएर क्याटालोनियाको स्वतन्त्रताको घोषणा गरेको बताएको थियो। सोही सूचनाका आधारमा स्पेन सरकारले प्रश्न गरेको हो।
तर क्याटालोनियाको स्वतन्त्रताका लागि आन्दोलन जारी राखेका पृथकतावादी नेताले कुनै स्पष्ट जवाफ दिन नसकेको विदेशमन्त्रीले जानकारी दिएका छन्।
लक्जम्बर्गमा रहेका विदेशमन्त्रीले सम्वाददाताहरुसँग भने,‘सुरुमा क्षेत्रीय सरकारले स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्ने बारेमा सोधेका थियौँ र यदि स्वतन्त्रता घोषणा गरेको भए स्पेन सरकारले सोहीबमोजिम निर्णय गर्ने तयारी हाम्रो थियो।’
हालै भएको जनमत संग्रहपछि त्यसको परिणाम स्वीकार गरी अलग्गै राज्यको घोषणा गर्नुपर्ने भनी स्पेन सरकारकाविरुद्ध पृथकतावादी नेताहरुले आन्दोलनको घोषणासमेत गरेका छन्।
जनमत संग्रहको परिणामपछि स्वतन्त्रता घोषणा गरिदिन क्षेत्रीय सरकारले केन्द्रीय सरकारसँग आग्रह गरेको थियो। तर स्पेन सरकारले भने जनमत संग्रहको वैधानिकतामाथि प्रश्न उठाएको छ। स्पेन सरकारले क्याटालोनियालाई स्वतन्त्रता दिन नसकिने बताएको छ।
जनमत संग्रहलाई विवादास्पद मानिएको छ। युरोपेली युनियनका प्रमुख डोनाल्ड टस्कले पनि यस्तो विवाद नचर्काउन र पृथकतावादका पक्षमा आन्दोलन नगर्न आग्रह गरेका बताइएको छ।
विवादपछि विश्व समुदायले पनि क्याटोलोनियाको विरोधका कार्यक्रमहरुलाई नचर्काउन क्याटालोनियाली पृथकतावादी नेताहरुलाई दबाब दिएका छन्।
विदेशमन्त्री दास्तिसले भने,‘हामीले क्याटालान नेता कार्लेस पुज्दमोनलाई औपचारिक रुपमा नै पत्र लेखेर प्रश्न गरेका थियौँ, तर उहाँको स्पष्ट जवाफ आएको छैन।’
उनीहरुले क्याटालोनियाको स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्ने प्रश्नको जवाफमात्र दिए हुनेमा त्यसो गर्न नसक्दा झन दुविधा भएको छ ।
पुज्दमोन क्याटलोनिया स्पेनबाट अलग्गिन पाउनुपर्ने मागमा छन्। जनमत संग्रंहपछि नेताहरुले लगत्तै एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताको घोषणा गर्ने अनुमान गरिएको थियो। तर त्यसो हुन सकिरहेको छैन। रासस/एएफपी