PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नेपाली कांग्रेस र लोकतान्त्रिक फोरम एकताका ११ दृष्य : रोनाधोना र उत्साह



रमेश वाग्ले

नेपाली कांग्रेस र लोकतान्त्रिक फोरम एकताका ११ दृष्य :  रोनाधोना र उत्साह

काठमाडौं : नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकता भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारबीच सहमति पत्रमा हस्ताक्षर गरी नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समाहित भएको घोषणा गरेका हुन्। 

आइतबार साँझ नै एकता गर्ने प्रधानमन्त्री कार्यालयबाट निमन्त्रणा भए पनि गच्छदारले नै औपचारिक घोषणाको प्रस्ताव गरेपछि नेपाली कांग्रेसले आजका लागि कार्यक्रम सारेको थियो। बिहान ११ बजे एकता गर्ने भनिए पनि करिब दुई घण्टा ढिलो मात्र एकता सभा शुरु भएको थियो। 

२०६४ साल माघ १८ गते बालुवाटारबाट नेपाली कांग्रेस छाडेका गच्छदारले पुनः बालुवाटारमै एकता गर्न पुग्दा केही फरक दृष्यहरु देखिए। 

दृष्य नम्बर १ः  देउवालाई भन्दा गच्छदारलाई धेरै ताली

बिहान ११ बजेका लागि तोकिएको पार्टी एकतामा बालुवाटारको हलमा नेताहरु करिब पौने १ बजे मात्र छिर्न थालेका थिए। एक बज्नै लग्दा अरु कांग्रेस नेताहरुसँगै नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार हलमा प्रवेश गरे। लामो प्रतिक्षामा हलमा उकुसमुकुस हुँदै बसेका कांग्रेस कार्यकर्ताले गडगडाहट तालीले स्वागत गरे। तर, मञ्चमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रवेश गरेकै थिएनन्। 

त्यसको केही बेरमा सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा हलमा हात जोडेर आफ्नै शैलीमा प्रवेश गरे। कार्यकर्ताले ताली त बजाए। तर, त्यो कांग्रेसमा एकताका लागि हलमा प्रवेश गरेका फोरम अध्यक्ष गच्छदारलाई भन्दा धेरै कम थियो।

दृष्य नम्बर २ः महेश आचार्यको दमदार सम्बोधन

पार्टी एकता हुँदै गर्दा नेपाली कांग्रेसका बौद्धिक नेता महेश आचार्यले उद्घोषण गरेका थिए। मिठो भाषाको प्रयोगमा अब्बल नेता आचार्यले देशलाई कम्युनिष्ट अधिनायकत्व र देशलाई ध्रुवीकरणबाट जोगाउन लोकतान्त्रिक शक्तिहरु एक हुनु परेको बताए। 

उनले कम्युनिष्ट ध्रुवीकरण, जातीय विद्वेष, क्षेत्रीय भावना र नेपाली नेपालीबीच मनोमालिन्य हुने कुरा रोक्नु नै कांग्रेसको पहल रहेको भन्दै त्यसमा सहमत हुने शक्तिहरु एकाकार हुन शुरु भएको बताए। 

दृष्य नम्बर ३ः गच्छदार र देउवालाई रामचन्द्रले मिलाए


पार्टी एकताको औचित्यबारे महेश आचार्यले प्रष्ट पारेपछि  दुवै नेताले हस्ताक्षर गरेको एकता हुँदाको समझदारी पत्र देखाउन आग्रह गरे। दुवै नेताले उठेर समझदारी पत्र देखाए –गडगडाहट तालीले हल गुञ्जायमान भयो। 

तालीसँगै आचार्यले दुवै नेतालाई हात मिलाउन आग्रह गरे। बीचमा बसेका पौडेलले दवैका हात मिलाइदिने काम गरे। कुनै भूमिकामा नरहेका रामचन्द्रले आफ्नो भूमिका पकडे – दुवै नेताको हात मिलाइदिएर। सबै खुशी हुँदै तीन जनाले मिलाएको हातले फोटो थप आकर्षक बन्यो।

दृष्य नम्बर ४ः जितेन्द्रदेवको भूमिका

नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रहेका जितेन्द्र देवले समझदारी पत्र पढेर सुनाए। पत्रमा देश कम्युनिष्ट ध्रुवीकरणबाट अधिनायकवादतर्फ अघि बढेको भन्दै त्यसबाट देशमा हुने दुर्घटनाबाट जोगाउन लोकतान्त्रिक शक्तिहरु मिल्नुको विकल्प नभएको बताइएको छ। 

दृष्य नम्बर ५ः गच्छदारको जय नेपाल


नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले भाषणको सुरुवात नेपाली कांग्रेसले प्रयोग गर्ने जय नेपालबाट गरे। गच्छदार बोल्नका लागि ड्यासतर्फ अघि बढ्दा उत्साहित देखिएका कांग्रेस कार्यकर्ता उनीतर्फै केन्द्रित थिए। गच्छदार मञ्चमा उभिएर सिधै भने ‘जय नेपाल’। कार्यकर्ताले गच्छदारतर्फ हेरेर हात उठाउँदै एक स्वरमा थपे ‘जय नेपाल’। हल गुञ्जायमान नै थियो। गच्छदारले दोहोर्‍याएर जोड्ले भन्नुस भन्दै त्यही भने –‘जय..... नेपाल...,। कार्यकर्ताले अझ जोडले भने ‘जय... नेपाल‘...’ त्यसपछि बल्ल गच्छदारले सम्बोधन शुरु गरे। 

त्यसरी जय नेपाल भनेर उत्साहित हुँदै शुरु गरेका गच्छदार बीचमा भावुक भए पनि अन्त्यमा पुनः उत्साहित नै भएका थिए। शुरुमै जय नेपाल सम्बोधनबाट कांग्रेस कार्यकर्ता उत्साहित बनाएर अन्त्यमा विदा लिँदा भने जय नेपाल सँगै जय मधेस पनि भन्न पुगे।  उनले तत्काल सच्याए - फेरि जय मधेस पो भन्न पुगेछु।

दृष्य नम्बर ६ः कांग्रेस प्रवेश गरेका गच्छदारको उल्टो स्वागत

पार्टी एक बनाएर गच्छदारले लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समाहित भएको घोषणा गरे। तर, उनले सुरुमै नेपाली कांग्रेसका सभापति, सम्माननीय प्रधानमन्त्री भन्दै शेरबहादुर देउवाबाट शुरु गरे र वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, रामशरण महत हुँदै धेरै नेताको नाम लिएर हार्दिक स्वागत गर्दछु भने। उनले हार्दिक स्वागत गर्दछु भनेको विषयको मर्म बुझ्न भन्दै त्यसको विशेष अर्थ रहेको बताए।

दृष्य नम्बर ७ः गच्छदार रोए र सबैलाई रुवाए


सम्बोधन गर्दै गर्दा गच्छदार नोस्टाल्जिक भए। गच्छदारले आफूले बिहानै विगत सम्झिएको जानकारी दिँदै त्यसले विशेष संयोग आफूलाई स्मरण गरेको बताए। 

‘नेपाली कांग्रेसका नेताहरु, वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, रामशरण महत, मेरा साथी अर्जुननरसिंह केसी, रामशरण महत, नोना आमा धेरै जना नेताहरु हुनुहन्थ्यो। त्यो दिन २०६४ साल माघ १८ गते थियो,’ त्यति भनेर गच्छदार बोली बन्द भयो। नजिकै रहेका गच्छदारका सहयोगीले उनलाई न्यापकिन दिए। उनले आँसु पुछे र पानी पिए। उनले फेरि भक्कानिदै भने ‘गिरिजाबाबु पनि त्यही हुनुहुन्थ्यो।’
उनले त्यसो भनेर घुँक्क... घुँक्क... गर्दै आँसु वर्षाउन थाले। निहुरिएर आँसु पुछ्न थाले। हलमा केही बेर सन्नाटा छायो। केही कार्यकर्ताले टेबलमा ढ्याप गर्दै गच्छदारको ध्यान मोड्ने प्रयत्न गर्दा छेउमा हुनेले हात समातेर रोक्ने प्रयत्न गरे। घुक्क आवाज निकाले गच्छदारले भने, त्यही दिन म यही बालुवाटारबाट कांग्रेस छोडेर विदा भएको थिए।' अग्रपङ्तिमा बसेका प्रधानमन्त्री शेरबहादुर देउवासहित, कांग्रेस वरिष्ठ नेता पौडेल र धेरैजसो नेताहरु स्तव्ध देखिए। सबैले आफ्ना आँखा पुछ्न सुरु गरे। दर्शक दिर्घामा रहने धेरै कार्यकर्ताले आँखा छोप्न शुरु गरे। 
उनी थामिन सकेनन्। कार्यकर्ता पनि उनी फरक पार्टीबाट आएकोभन्दा लामो समयदेखि हराएर माया मारिसकेको घरको सदस्य टुप्लुक्क घर आइपुग्दा जस्तै हर्षमिश्रित रुवाबासी भयो।

दृष्य नम्बर ८ः विमलेन्द्र निधि र गच्छदारको अंकमाल


नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग एकीकरण हुने भनिएको समयभन्दा दुई घण्टा ढिलो शुरु भएर पनि कार्यक्रमअघि बढिसकेपछि मात्र उपस्थित भएका थिए कांग्रेस नेता विमलेन्द्र निधि। गच्छदारले सम्बोधन गर्दैगर्दा गच्छदार बसेकै ठाउँमा बस्न आइपुगेका निधि सम्बोधन गरी सकेर फर्कैदै गर्दा सिटबाट उठे। निधिले गच्छदारलाई हात फिजारेर स्वागत गरेपछि दुर्इ नेताले लामो अंकमाल गरे। दुवै नेताले अंकमाल गरिरहँदा हल फेरि तालीले गुञ्जायो। 

दृष्य नम्बर ९ रामचन्द्रको सम्बोधनः परदेशी सन्तान घर फर्कियो


गच्छदारपछि सम्बोधन गरेका पौडेलले गच्छदार रोयर छाएको सन्नाटालाई चिर्ने प्रयत्न गरे। ‘एउटा विदेशिएको सन्तान लामो समयपछि घर फर्कदा जस्तो वातावरण हुन्छ, यहाँ त्यस्तै भयो,पौडेलले भने, ‘खुशी नै मान्नुपर्छ। हिजो केही साथीहरु मात्र लिएर जानुभएका गच्छदारजी आज ठूलो परिवार लिएर घर फर्कनु भएको छ।’ उनले गच्छदारसहित उनका पार्टीका नेताहरुको आगमनलाई असली धर्ती पुत्रको आगमन भने। 
‘असली धर्ती पुत्रहरु कांग्रेस आउनु भएको छ,’ पौडेलले भने, ‘अब देशलाई विखण्डित बनाएर जनता विभाजित गरेर बलियो बन्न खोज्नेहरु कमजोर हुनेछन्।’

दृष्य नम्बर १०ः शेरबहादुरको सर्टकट भाषण


आफूअघि रामचन्द्र बोल्न उठ्दासमेत छोटो बोल्न आग्रह गरेका देउवाले आफ्नो हतारो देखाएर राजनीतिक विषय नै नबोली भाषण सकाए। 
‘विजयजीका विषयमा मैले यहाँ भनिरहनु पर्ने छैन, उहाँ बहुत मेहनती र प्रभावशाली व्यक्ति हुनुहुन्छ,’ देउवाले भने, ‘विजयजी र उहाँको टिमका कारण यो पार्टी यत्रो भएको हो। उहाँहरु सबैको आगमनले नेपाली कांग्रेसमा ऊर्जा थप्ने छ।’ उनले त्यति भनेर बाँकी पार्टी प्रवेश गराउने काम वरिष्ठ नेता पौडेललाई हस्तान्तरण गरे।

दृष्य नम्बर ११ः अन्य पार्टीका नेताहरु पनि प्रवेश


एकतापछि अन्य पार्टीका नेताहरु पनि प्रवेश गरे। बिहानै डाक्टर शेखर कोइरालाको घरमै पुगेर कांग्रेस प्रवेश गरेका राजपा सहमहामन्त्री दिलिप धारेवाल पनि बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबाट अविर माला पहिरिए। त्यससँगै अन्य पार्टी समाहित गरे र छोडेर आएका सात नेता कांग्रेस प्रवेश गरे।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell