PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

राजनीतिक दललाई राष्ट्रपतिको आग्रहः निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुस्



पहिलोपोस्ट

राजनीतिक दललाई राष्ट्रपतिको आग्रहः निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुस्

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छन्। 

दीपावली तथा छठ पर्वका अवसरमा आज राष्ट्रपति निवास शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि हुन गइरहेको पहिलो प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनलाई सबै दल मिलेर सम्पन्न गराउन लाग्नुपर्ने बताइन्। 

राष्ट्रपतिसँगको भेटमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले निर्वाचनको सफलताको कामना गर्नुभएको र पार्टीहरुबीचको एकता हुँदै गरेको सन्दर्भलाई उहाँले लोकतान्त्रिक अभ्यासभित्रको सकारात्मक पक्षका रुपमा लिनुभएको बताए। 

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सबै शक्ति मिलेर निर्वाचन सम्पन्न गरी संक्रमणकाललाई टुंगोमा पुर्याउन राष्ट्रपतिबाट आग्रह गरिएको बताए। 

कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा, नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईसहित नौ दलका नेताहरु सहभागी थिए। 

यस्तै, कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी थिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell