- टिप्पणी -
कम्युनिष्टहरुले हठात् एकीकरण गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय प्रणाली र समाजवाद ल्याउने घोषणा गरेको उल्लेख गर्दै तत्क्षणका नवप्रवेशी तर, पुरानै चारतारे नेता गच्छेदारले भने, 'यो भनेको सिधासिधा लोकतन्त्र सिध्याउने कुरा हो। त्यसैले कांग्रेससँग मिलेर लोकतन्त्र जोगाउने अभियानमा लागेका हौँ।’ कांग्रेससँगको पार्टी एकताको गुदी कुरो लोकतन्त्रको रक्षार्थ वाम धारलाई तगारो हाल्नु नै विजय निष्कर्ष थियो।
अस्ति शनिवार मात्रै संसदको बिदाई सम्वोधनमा हामी एकदलीय साम्यवादका लागि वाम एकता गरिरहेका छौनौं भनेर प्रष्टिकरण दिने प्रचण्डको वाणीका झंकार नसकिँदै विजयले सम्भावित वाम एकतामाथि तगारो लगाउने उद्घोष आफैमा रोचक थियो। जो एकतापन्थी वाम हामी साम्यावादी होइनौँ भनेर हजार दोहोर्याउँछन्, उनैबाट लोकतन्त्रलाई खतरा देख्ने विजयहरुका चश्माका पावरको दोष वा प्रचण्डहरुको बुझाउने कलाको कमी यो पनि समयक्रममा प्रष्टिदै जाला।
तथापि, पञ्चायतकाल देखिकै पुराना कांग्रेस नेता गच्छदारले कम्युनिस्टलाई दुई तिहाई हैन, बहुमत पनि ल्याउन दिँदैनौं भन्दै थपे, 'हामी दुई तिहाई त भन्दैनौँ तर, हाम्रो अलाइन्सले अबको सरकार बनाउने छ। यो मेरो घोषणा हो।’ सरकारमा नै बसेर पूर्वप्रतिवद्धता विपरित नेकपा माओवादी केन्द्रका विपक्षी एमालेसँग वाम एकतामा गएर अत्तालिएका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र उपस्थित कांग्रेसजनका लागि विजयको गर्जन एक सान्त्वना मात्रै थिएन, थोरबहुत उर्जा पनि हो।
सरकारको उपप्रधानमन्त्री त्यसमाथि कांग्रेसमा फर्केको पुरानो जुझारु, चुनावका मुखमा पार्टी एकतामा दिने गर्जन नै विजयको हो। कांग्रेस अलाइन्सले आगामी सरकार बनाउने छ, भनेर पार्टी सभापति शेरबहादुर देउवा वा वरिष्ठ नेता रामचन्द्र पौडेलले नै मुख नखोलेका बेला विजयको चुनावी विजयको भविष्यवाणी त्राण नै कांग्रेस समर्थकहरुका लागि। त्यो वाणीको परीक्षा मतदाताले मंसिरको चुनावमा लिने नै छन।
के विजयसँग वाम गठबन्धनको सम्भावित विजयलाई प्रतिकार गर्ने क्षमता जीवित होला, जति उनी उपेन्द्र यादवको फोरम हुँदै आफ्नै नेतृत्वको लोकतान्त्रिक फोरममा समाहित हुनु अघिसम्म थियो? त्यो स्वयं विजयको विजयी ताकत भने मंसिर १० र २१ को मतदानले नै परीक्षित गर्नेछ। किनभने सधै सत्तालोलुप चरित्र, मधेशवादको राजनीतिमा बरालिएको निरर्थक यात्राको हिसाबकिताबमा जनताले विजयको शक्तिको राम्रै अप्रेशन गर्ने छन्।
ठूलो भाग खान मधेशको क्षेत्रीय मु्द्धामा बहकिएका विजय वा कुनै पनि अरु विजयहरुलाई पुरानै राजनीतिक घर फर्कन विवश पार्ने सबैभन्दा बलियो शक्ति त परिवर्तित समय नै हो। साथमा जनताले भर्खरै स्थानीय चुनावमा मधेशी दलहरुलाई मतपत्रमार्फत दिएको हैसियत नै हो।
नेता गच्छदारले लोकतन्त्र जोगाउन निशर्त एकीकरण गरिएको दाबी गर्दै स्थानीय चुनावमा आफ्नो दलले पाएको मतादेशमा गौरव गरे पनि त्यो उनको सत्तालोलुप दलीय चरित्रमाथिको जनताको न्यायकै परिणाम थियो। उनको दलमा बीऊ मात्रै जोगाएको हो स्थानीय चुनावले। सदावहार मन्त्री हुने छवी बनाएका गच्छेदारको उद्घोष थियो, 'म छुट्टै चुनाव लड्ने तयारी गरिरहेको थिएँ, 'साढे ३ लाख मेरो स्थिर मत थियो। प्राविधिक कारणले मैले स्थानीय चुनावमा कम सिट पाएँ।’ हो, आखिर चुनाव हार्ने सबैले भन्ने नै आन्तरिक र प्राविधिक कारणले आफ्ना कमजोरीहरु छोप्ने नै हो। त्यसमा उनले किन ढाँटे भन्ने प्रश्न गर्नु नै बेकार हुनेछ।
कुरो र कुलो जता लगे पनि क्षेत्रीय र साना दललाई च्यापेर कानुनी रुपमा नयाँ आएको थ्रेसहोल्डको अनिवार्य व्यवस्था र ठूला दलहरुको नाटकीय ध्रुवीकरणको साँगोपाँगो दबाबको प्रत्युत्तरमा अस्तित्व रक्षाको नयाँ रणनीति हो विजयहरुको पार्टी एकता। किनभने साना दलको नाङ्ले राजनीतिक पसल कम्तिमा यो चु्नावबाट सदाका लागि सुक्दै थियो। जनमतमा बढारिएर सिद्धिनुभन्दा रुखमा ओत लाग्नु नै उनका लागि सुरक्षित राजनीतिक अवतरण थियो।
मधेशवादको राजनीतिक जिनिसको पतनोन्मुख यात्राको एक उदाहरण पनि हो विजयको कांग्रेस फिर्ती वा दलको विलय। अवसरवादी राजनीतिको विजय शैलीको नयाँ फड्कोको सम्भावित राजनीतिक आधिवेहरीबाट बढारिनुभन्दा किनारा लाग्नु उत्तम हुने मुभ पनि हो उनको पुरानो घर फिर्तीको नयाँ कदम। पुरानो घरमा नयाँ यात्रा त यसै पनि हो, उसै पनि हो।
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमले गरेको एकता भावनात्मक रुपमा झाँगिएमा त्यो डुब्दो नाउँ बनिरहेको कांग्रेसको राजनीतिक लडाईमा एक टेको पनि हुने नै छ। किनभने थारु आदिवासी बाहुल्य क्षेत्रमा कांग्रेसको चारतारे फरफराउन अरुभन्दा बलिया र भरपर्दा नेता विजय नै हुन। विजय एक्लै जित्न नसक्ने चुनावी समर चारतारे ब्यानरमा लड्दा वा कांग्रेसलाई सघाउँदा पश्चिमका आधा दर्जन बढी सीटमा प्रत्यक्ष लाभ मिल्ने पक्का छ। जति नै सत्तालोलुप भए पनि आफ्नो समुदायका सदावहार भैरहन सक्नु विजयको ठूलो शक्ति हो। र, अहिले त्यही स्थानीय लोकप्रियताको विजय शक्ति कांग्रेसको थप पूजी बनेको छ, आगामी मंसिरको चुनावका लागि।
कांग्रेस छोडेर तत्कालीन उपेन्द्र यादवको मधेशी जनाधिकार फोरममा समाहित भएपछिका दिनमा गच्छेदारले मधेशका कुनै पनि आन्दोलनको नेतृत्व नगरी मधेशी नेतामा कहलिए। प्रतिपक्षी वा सडक आन्दोलन बिना नै मधेशी नेता कहलिएका उनी मधेश आन्दोलन वा नाकाबन्दीका कुनै गतिविधिका कारक पात्र बनेनन्। उनी सिंहदरवारको वरपरै बसेर मधेशी नेता बने र बनिरहे।
धोकेवाजीको राजनीतिमा उनले कांग्रेसदेखि उपेन्द्र यादवसम्मलाई चक्मा दिए। तै पनि, आफ्नै नेतृत्वमा गरिखाने राजनीतिक दल निर्माणको प्रयोगमा शतप्रतिशत हारे। पूर्वमाले नेता जितेन्द्र देवहरुको असन्तुष्ट वाम तप्कासँग उनको लोकतान्त्रिक फोरमरुपी पार्टी यात्रा स्मरणीय र सफल बन्न सकेन नै। उनले आफू कांग्रेसमा फर्कँदै गर्दा जितेन्द्र देवहरुलाई सँगै लैजान सके, त्यसैले त देवहरुको समूहको वाम गठबन्धनतिरैको लालसा यतिमै रोकिन मुश्किल छ। स्वार्थ मिलेको भए उनी वाम गठबन्धनमा पनि जान सक्थे तर, सहज पुरानो दल नै भयो, उही कांग्रेस।
विजयको कांग्रेसमा भएको विलय गहन राजनीतिक सन्देश भनेको मधेश बाहुल्य भूगोल र जनमनको नाममा हुने क्षेत्रीय र जातीय राजनीतिको समुल अन्त्यको घडी अब शुरु भएको छ। राजपाको उदय वा संघीय समाजवादीको राष्ट्रिय दल बन्ने प्रयासले जस्तै अब विजयको कांग्रेस यात्राले मधेशी दलको दशकअघिको मोहलाई भङ्ग गरेको छ। गरिखाने दलका लागि अब क्षेत्रीयता, जातीयता र भूगोलको होइन, देशकै राजनीतिक एजेण्डा चाहिने उनको दल विलयको सबक हो।