किर्कुक : इराकको किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता भएको छ। इराकी सेनाले केही हप्तादेखिको निरन्तर प्रयासपछि सोमबार यो सहर फिर्ता लिएको हो।
यसरी फिर्ता लिइएको सहरमा यहाँका गभर्नरको कार्यालय, यसअघि त्यहाँ राखिएका सैनिकका क्याम्पहरु र केही तेलक्षेत्र पनि रहेका छन्।
इराकी सेनाको नेतृत्वमा रहेको सरकारी फौजले विवादास्पद उत्तरी सहर किर्कुक र नजिकैको तेल क्षेत्रलाई कुर्दहरुको नियन्त्रणबाट फिर्ता लिएको यस घटनालाई इराकी सरकारले पनि उपलब्धि भनेको छ।
इराकको सरकारी फौजले सैन्य कारबाही सुरु गरेको २४ घण्टामा नै किर्कुकको विवादास्पद उक्त सहरलाई कुर्दिस लडाकूहरुको नियन्त्रणबाट फिर्ता लिएको हो। तर सेनाले बिगतमा पनि पटक पटक सहर फिर्ता लिन निकै प्रयास गरेको थियो।
यो सहर नियन्त्रणमा आएपछि सेनाका लडाकू तथा अन्य अत्याधुनिक गाडीहरु सहरको केन्द्रमा प्रवेश गरेका छन्। सोमबार फिर्ता भए लगत्तै यहाँको स्थानीय सरकारको मुख्यालयमा इराकको झण्डा फहराइएको छ।
सेनाले कारबाही थाल्नुअघि नै सर्वसाधारणहरुलाई बाहिर ननिस्कन वा कतै अन्यत्र जान सूचना जारी गरेको थियो। हजारौँ सर्वसाधारण त्यहाँबाट अन्यत्रै गइसकेका पनि सेनाले जनाएको थियो।
अमेरिकी विदेश मन्त्रालयले किर्कुक सहरमा शान्तिपूर्ण अवस्था सिर्जना गर्न आग्रह गरेको छ। यहाँका सबै नागरिकलाई र इराकी सेनालाई पनि विशेष रुपमा शान्त रहन आह्वान गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी थप झडपहरु नगर्न र सबै पक्षलाई संयमित र शान्त रुपमा रहन आह्वान गरेको थियो।
सहरमा विगतका केही समयदेखि इस्लामिक स्टेट समूहको प्रभाव बढ्दै जान थालेको भन्दै उक्त समूहलाई त्यहाँबाट निस्तेज पार्न अझै धेरै गर्नुपर्ने भन्दै इराकी र कुर्द फौजको तनाबले त्यो कार्यलाई कम महत्वमा पार्नसक्नेतर्फ ध्यानाकर्षण गराएको हो। रासस/एएफपी