काठमाडौँ : अनसनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी टोली बीच आज हुने भनिएको वार्ता विवादका कारण यो समाचार तयार पार्दा साँझ ५ बजेसम्म बस्न सकेको छैन। दुबै टोलीले आफ्नै ठाउँमा वार्ता बस्नुपर्ने अडान राखेपछि वार्ता हुन नसकेको हो।
सरकारी टोलीका वार्ता सदस्य डिल्ली रिमाल सिंहदरबारमा दिउँसो २ बजे वार्ता बस्ने भनेपनि डा केसी पक्षका टोली नआएपछि वार्ता बस्न नसकेको बताउँछन्। यता डाक्टर केसी पक्षका वार्ता टोलीका सदस्य डा अभिषेक सिंह भने टिचिङमा वार्ता बस्ने सहमति भएपनि सरकारी टोली नआएपछि वार्ता हुन नसकेको सुनाउँछन्।
सोमवार राति भएको तेस्रो वार्ता बिना निष्कर्ष टुगिंएपछि अर्को वार्ता आज २ बजे बस्ने सहमति भएको थियो।
सिंहका अनुसार आज सरकारी टोलीका सदस्यहरुले डा केसीसँगै भेटेर वार्ता गर्ने सहमति भएको थियो। तर सहमती अनुसार वार्ता टोली टिचिङ नआएपछि वार्ता हुन नसकेको हो।
सिंह भन्छन्, ‘सरकारी टोलीका सदस्यहरु डा केसीको माग पूरा गर्ने पक्षमा छैनन्। उहाँहरु जसोगरी हुन्छ अनशन टुंग्याउने पक्षमा हुनुहुन्छ।’
कुनै मागमा पनि सहमति नजुटेकाले अनशन नतोडिने सिंह बताउँछन्।
सरकारी वार्ता टोलीका सदस्यहरु डा केसीका सबै माग पूरा गर्न जटिल भएको बताउँछन्। रिमाल भन्छन्, ‘केसी पक्षका वार्ता टोलीका सदस्यहरु कुनै मागमा लचकता देखाउनु हुन्न। त्यही भएर वार्तामा सहमति जुट्न नसकेको हो।’
यता १३ दिनदेखि अनशन बसिरहेका डाक्टर गोविन्द केसीको अवस्था बिग्रँदै गएको छ। उपचारमा संग्लग्न डाक्टरहरुका अनुसार रगतमा क्याल्सियमको मात्रा निकै नै न्यून देखिएकाले मुटुको चालमा गडबडी आउने खतरा बढेको छ। मुटुको चाल गडबडी भए अचानक धड्कन बन्द हुन सक्ने चिकित्सकहरु बताउँछन्।
केसीको स्वास्थ्यमा खतरा देखिएपछि भेन्टिलेटर तयार राख्न अस्पताललाई जानकारी गराइएको छ।