विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले उच्च मनोबलका साथ निर्वाचनमा होमिन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्।
पार्टीका भ्रातृ सङ्गठनद्वारा आज विराटनगरस्थित पार्टी कार्यालयमा दीपावली, छठ तथा नेपाल संवत्को शुभकामना आदान–प्रदान कार्यक्रममा आचार्यले नेपाली कांग्रेस आगामी निर्वाचनमा ठूलो पार्टीका रुपमा पुनः स्थापित हुने भएकाले कार्यकर्तालाई निर्वाचनमा होमिन निर्देशन दिए।
आचार्यले लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएर निर्वाचनमा जाने कुरा उल्लेख गर्दै वाम गठबन्धनका कारण नेपाली कांग्रेसलाई कुनै असर नपर्ने स्पष्ट पारे।
अर्का केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले दीपावलीले देशको समृद्धिको बाटो खोल्ने उल्लेख गर्दै सङघीय र प्रदेशको निर्वाचनपछि संविधान पूर्ण रुपमा कार्यान्वयन हुने बताए।
निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्दै रिजालले साना–तिना कुरालाई बिर्सेर पार्टीका उम्मेदवारलाई जिताउनतर्फ अग्रसर हुनुपर्ने बताए।रासस