PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन सुरु, भ्रष्टाचार नियन्त्रणमा राष्ट्रपति सिको सम्बोधन केन्द्रित



पहिलोपोस्ट

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन सुरु, भ्रष्टाचार नियन्त्रणमा राष्ट्रपति सिको सम्बोधन केन्द्रित

बेइजिङ :  चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (कांग्रेस) आजदेखि बेइजिङमा सुरु भएको छ। 

बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ महाधिवेशन सुरु भएको हो। 

चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको ग्रेट हल अफ दि पिपुलमा महाधिवेशन सुरु गर्नुअगावै देखि नै चीनभर सुरक्षा व्यवस्था कडा पारिएको थियो। 

महाधिवेशनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गरेका थिए । 
प्रत्येक पाँच वर्षमा हुने महाधिवेशनको चिनियाँ राष्ट्रपति सि चिनफिङले उद्घाटन गरे। उद्घाटन सत्रको नेतृत्वगर्दै उनले आफ्नो कार्यकालको उपलब्धि सुनाएका थिए

कांग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि सहभागी छन्। उनीहरुमध्ये अधिकांश मंगलबार नै बेइजिङ आइपुगेका थिए। 

नेशनल कांग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय हो। यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ । 

यसले आगामी पाँच वर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच वर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ। 

चीनका वरिष्ठ नीति निर्माता रहने पार्टीको पोलिटब्यूरो स्थायी समितिमा पनि नेताहरु चयन गर्ने काम महाधिवेशनले गर्नेछ। 

पोलिटब्युरोमा को को रहने छन् भन्ने बारेमा पनि आउँदो साता यसै महाधिवेशनले अन्त्यतिर चयन गर्नेछ। चयनको कार्य महाधिवेशनको अन्त्यमा हुने बताइएको छ। 

महाधिवेशनलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले पनि सहभागी प्रतिनिधिहरुलाई सम्बोधन गर्नेछन्। महाधिवेशन बन्द कोठामा हुँदैछ। 


भ्रष्टाचार विरोधी लडाईं जित्नुपर्छ 

यसैबीच, चिनियाँ राष्ट्रपति चिनफिङले चीनले यतिखेर देशभित्रै भ्रष्टाचारका विरुद्धमा लडाईं जारी रहेको र यो लडाईं जसरी पनि जित्नुपर्नेमा आफू लागि परेको बताए। 

सम्बोधनमा उनले भ्रष्टाचार अहिलेको चीनका लागि प्रमुख चुनौती भएको पनि स्पष्ट पारे। उनले भने– म राष्ट्रपति भएदेखि नै भ्रष्टाचारविरोधी अभियान सुरु गरेको हुँ र अहिलेसम्म लाखौँ व्यक्तिलाई भ्रष्टाचारका विरुद्धमा कारबाही गरेको जानकारी गराउँछु। 

त्यस अवसरमा राष्ट्रपति चिनफिङले भ्रष्टाचारका विषयमा शून्य सहनशीलतामा काम गर्ने बताए।

उनले घुस लिने मात्र होइन कि घुस दिने मानिसलाई पनि कडाभन्दा कडा कारबाही गरिने आफ्नो सम्बोधनका क्रममा दोहोर्याएका थिए।
 
उनले भ्रष्टाचार नियन्त्रणका लागि जारी अभियानअन्तर्गत १० लाखभन्दा बढी अधिकारीहरुलाई कारबाही गरेको र सो कार्य आफ्नो कार्यकालको सफलता भएको बताए। 

सन् २०१२ मा राष्ट्रपति भएका सिले चीनमा भ्रष्टाचार विरोधी नेताका रुपमा आफूलाई शक्तिशाली बनाउँदै आएका छन्। यो महाधिवेशन पछि पनि उनी पार्टीको प्रमुखकै रुपमा रहने अपेक्षा गरिएको छ। 

सम्बोधनका क्रममा उनले समाजवादसहित चीन अब नयाँ युगमा प्रवेश गरेको पनि दाबी गरे। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell