PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

यात्रा प्रतिबन्धसम्बन्धी राष्ट्रपति ट्रम्पको आदेशमा फेरि अदालतको अंकुश



पहिलोपोस्ट

यात्रा प्रतिबन्धसम्बन्धी राष्ट्रपति ट्रम्पको आदेशमा फेरि अदालतको अंकुश
फोटो श्रोतः littlegreenfootballs.com

वासिङटन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गरेका एक कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। 

राष्ट्रपति ट्रम्पले इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने नयाँ कानुनको गत महिना घोषणा गरेका थिए। 

उक्त प्रतिबन्धात्मक कानुन कार्यान्वयन नगर्न अमेरिकाको अदालतले मङ्गलबार आदेश दिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएको पछिल्लो यात्रा प्रतिबन्ध लागू हुनु केही अघि त्यसमाथि कानुन कार्यान्वयनमा रोक लगाइएको छ। 

तर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने अदालतको उक्त आदेश कानुन विपरीत तरिकाले आएको भन्दै त्यसविरुद्ध पुनरावेदन गरिने बताएको छ। 

ती देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेशमा गर्न नपाउने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको कानुनको घोषणालाई अदालतले अवैध भनी रोकिदिएको बताइएको छ। 

अमेरिकी राष्ट्रपतिको यात्रा प्रतिबन्धलाई यहाँको संघीय अदालतका न्यायाधीशले रोक लगाएका हुन्। यात्रा प्रतिबन्ध यसैहप्ताबाट लागू हुन लागेको थियो। 

अमेरिकाले यसअघि पनि अरु विभिन्न ६ वटा मुसलमान बाहुल्यता रहेका देशहरुमाथि यस्तै खालको प्रतिबन्ध लगाएको थियो। त्यसलाई पनि उतिबेलै अमेरिकाको सर्वोच्च अदालतले प्रश्न गरेको थियो। 

राष्ट्रपति ट्रम्पको यो तेस्रो यात्रा प्रतिबन्धमाथि पनि रोक लगाउन मागगर्दै हवाई राज्यमा निवेदन दर्ता भएको थियो। सोही निवेदनका आधारमा गरिएको अनुसन्धानबाट यो पछिल्लो आदेश आएको हो। 

अमेरिकामा रहेका आप्रवासीका बिरुद्धमा संघीय कानुन अन्तर्गत राष्ट्रपतिले त्यस्तो प्रतिबन्ध लगाउन नपाउने जिकीरसहित निवेदन पेश गरिएको थियो। 

अमेरिकी सरकारले भने शान्ति सुरक्षाको कारण देखाएर ती देशका नागरिकलाई अमेरिकामा प्रवेश गर्न नदिनेगरी उक्त घोषणा गरिएको जानकारी दिँदै आएको छ। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell