PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

निर्वाचनलाई सहयोग पुग्ने आदेश सर्वोच्चबाट आयो, निर्धारित मितिमा चुनाव हुन्छ : प्रमुख निर्वाचन आयुक्त



रमेश वाग्ले

निर्वाचनलाई सहयोग पुग्ने आदेश सर्वोच्चबाट आयो, निर्धारित मितिमा चुनाव हुन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनलाई सहयोग पुग्ने आदेश सर्वोच्च अदालतबाट आएको बताएका छन्। मतपत्र र निर्वाचन मितिबारे सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको आदेश आएपछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा यादवले आफूहरुले आदेशबारे आधिकारिक जानकारी भने पाइनसकेको बताए। 

'हामीलाई आधिकारिक जानकारी आइसकेको छैन, समाचारहरुमा हेर्दा निर्वाचनलाई सहयोग पुग्ने आदेश आएको देखिएको छ', उनले भने, 'अब निर्धारित मितिमा चुनाव हुनेमा कुनै द्विविधा छैन।'

राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र पुनः छपाइको माग गर्दै रिट दायर गरेका थिए। शुक्लाले प्रतिनिधिसभा र प्रदेशसभाको एउटै मतपत्र हुँदा मतदातालाइ असहज हुने भएकाले फरक फरक मतपत्रको व्यवस्था गर्न माग गरेका थिए। फरक फरक सभा गठन गर्ने भएकाले एकै मतपत्र उपयुक्त नहुने रिटमा उल्लेख थियो।

न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज गरेको आदेशमा भनिएको छ, 'तालिका स्वीकृत भई सो अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाई कार्य प्रारम्भ भइसकेको अवस्थामा दर्ता हुन आएको निवेदनबाट अन्तरिम आदेशबारे बोल्नुको कुनै औ‍चित्य रहेन।' 

तर अदालतले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई कार्य बाँकी रहेकोले प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्र अलग्गै छाप्ने सम्बन्धमा निर्वाचन आयोगले गम्भीरतापूर्वक विचार गर्ने भनिएको छ। आदेशमा 'गम्भीरतापूर्व विचार निर्वाचन आयोगले गर्ने नै हुँदा अन्तरिम आदेश जारी गरिरहनु परेन' भनिएको छ।  

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाई कात्तिक १० गतेदेखि प्रारम्भ गर्ने निर्वाचन आयोगको तालिका छ। 

के अब निर्वाचन आयोगले छुट्टाछुट्टै मतपत्र छाप्ने छ त?

प्रमुख निर्वाचन आयुक्त यादवले भने, 'हामीले सर्वोच्चको आदेशको आधिकारिक प्रति पाइसकेका छैनौँ।  आधिकारिक रुपमा आइसकेपछि  निर्वाचन आयोगले आवश्यक निर्णय गर्नेछ।'

सञ्चारकर्मीहरुले हिजो गृहमन्त्रीकै हैसियतमा जनार्दन शर्माले निर्वाचन आयोगबाटै निर्वाचन सर्ने सूचना प्राप्त भएको बताएको भन्दै आयोगबाट कसले यस्तो सूचना दियो भनी प्रश्न सोध्दा उनले भने, 'आयोगको एकद्वार सूचना प्रणाली हुन्छ। आयोगले अहिलेसम्म निर्वाचनको मिति सार्ने बारे कुनै विचार, छलफल, सूचना दिएको छैन। यो विषयमा थप कुरा उहाँलाई नै सोध्नुहोला। हामीलाई केही जानकारी छैन।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell