
दोहा : कतारका राजा सेख तमिम बिन हमद अल थानीले जारी कतार संकट समाधानका लागि वार्तामा बस्न आह्वान गरेका छन्।
इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उनले संकट समाधानका लागि वार्तामा बस्न आह्वान गरेका हुन्।
उनले भने,‘समस्या समाधानका लागि कतार सधैँ वार्ताका लागि तयार रहेको हामीले भनेका छौं, हामीलाई यो पनि थाहा छ की यो समस्या बल्झाएर कसैले जित्ने होइन।’
कतारी राजासँग ४० जना व्यवसायीसहितको टोली थियो। उनीहरूले पनि खाडी संकट समाधानका लागि आग्रह गरेका थिए।
गत जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन्।
कतारले आतंककारीहरूलाई सघाएको नाकाबन्दी गर्ने देशहरूको आरोप छ भने उनीहरूको आरोपलाई कतारले अस्वीकार गर्दै आएको छ। रासस/सिन्ह्वा