PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा किन आएन पानी ?



पहिलोपोस्ट

मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा किन आएन पानी ?

काठमाडौँ :  मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वागमती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ। 

सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वागमतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा परीक्षण गर्न थालेपछि एक सातादेखि पानी बन्द भएको स्थानीयवासीले बताए।

धारामा पानी आउन छाडेपछि खानेपानी खोज्नकै लागि भौँतारिनुपरेको स्थानीय मेनका खड्काले गुनासो गरिन्। 

एक हप्तासम्म सुन्दरीजल क्षेत्रकै धारामा पानी नआएपछि बुधबार स्थानीयवासीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सुन्दरीजल प्रशोधन केन्द्रका प्रमुखलाई भेटी नियमित पानी वितरणको व्यवस्था मिलाउन माग गरे। 

लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराई वागमतीको पानी लगेर मेलम्चीको प्रशोधन केन्द्र र पाइपमा परीक्षण गर्दा पानी आपूर्तिमा अवरोध नहुने गरी गर्ने सम्झौता भएको बताउँछन्। सुन्दरीजल जलविद्युत् केन्द्रमा मर्मत भइरहेकाले पनि पानी कम वितरण भएको हुनसक्ने उनको भनाइ छ। 

मेलम्ची खानेपानी आयोजनाले भने पानी परीक्षण गरेर पुरानै सञ्जालमा फर्काइने व्यवस्था मिलाइएकाले धारामा पानी बन्द हुनुपर्ने कारण नरहेको जनाएको छ। आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले पानी परीक्षणले नभई अन्य कारणले नै अवरुद्ध भएको हुन सक्ने बताए। 

उनले भने,‘प्रशोधन केन्द्रका छ वटा कक्षमा पानी परीक्षण भइसकेकाले अब चार दिनमा बाँकी दुई कक्ष पनि परीक्षण गरी सकिने छ, प्रशोधन केन्द्र परीक्षण सकेपछि पाइपको परीक्षण लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले गर्नेछ।’

पानी अवरुद्ध भएको गोकर्णेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष राम मानन्धर पुरानो सञ्जालको पानी नयाँ प्रशोधन केन्द्रमार्फत नयाँ सञ्जालबाटै परीक्षण गर्दा पुरानो सञ्जालमा पानी नआएको हुनसक्ने बताउँछन्। 

पानीको स्रोत भएकै स्थानमा पानी नदिई अन्यत्र वितरण नगर्न लिमिटेडलाई पटक–पटक अनुरोध गरिए पनि नमान्दा स्थानीयवासीले पानी नपाएको उनले बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell