
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले बालमन्दिरका बालिकालाई आज गुन्यूचोलो दिएकी छन्। लक्ष्मीपूजाको अवसर पारेर राष्ट्रपति भण्डारीले ६ देखि १६ वर्षका ४३ बालिकालाई गुन्यूचोलो दिएकी हुन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वस्ती वाचनसहित लक्ष्मीपूजा गरी बालिकालाई गुन्यूचोलो प्रदान गरेकी थिइन्।
त्यसक्रममा बालमन्दिरका पदाधिकारीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपति भण्डारीले नेपालको संस्कृतिअनुसार बालिकालाई गुन्यूचोलो बाँड्न पाउँदा अत्यन्तै खुशी लागेको बताइन्।
हरेक बालिकालाई छिटको साडी (रातो छिर्केमिर्के), ढाका चोली, सेतो पटुकी, कालो सुरुवाल, मखमलको रातो चप्पल एक जोर, रातो काँचको चुरा एक दर्जन र केशका लागि धागो दिइएको थियो।
बालमन्दिरका कार्यकारी निर्देशक बालकृष्ण डंगोलका अनुसार बडादशैँको महानवमीका दिन बालमन्दिरकातर्फबाट भाइको पशुपतिमा लगेर पूजा हुने गरेको सन्दर्भमा छोरीहरुलाई पनि गुन्यूचोली बाँड्न उपयुक्त हुन्छ भन्ने राष्ट्रपतिबाट इच्छा व्यक्त भएअनुरुप यो कार्यक्रम गरिएको हो।रासस