PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

वाम गठबन्धनले सिट विभाजन मिलाउनै सकेनः तिहार पछिमात्र  उम्मेदवार छनोट



पहिलोपोस्ट

वाम गठबन्धनले सिट विभाजन मिलाउनै सकेनः तिहार पछिमात्र  उम्मेदवार छनोट

काठमाडौं :  एमाले-माओवादी गठबन्धनबीच सिट संख्या बाँडफाँटमा कुरा नमिल्ला अहिलेसम्म उम्मेदवार छनोट अन्यौलमा परेको छ। 

प्रमुख हिस्सेदार दुई दल रहेको गठबन्धनमा अन्य गठबन्धन साझेदार दलहरुलाई दिने सिट संख्यासमेत अहिलेसम्म टुंगिन सकेको छैन। प्रमुख दुई दलकै बैठक नहुँदा दुई दलका मुख्य उम्मेदवार कहाँबाट लड्ने भन्ने विषय समेत टुंगो लागेको छैन। 

‘उम्मेदवारको हैन, अहिलेसम्म सिट संख्याका विषयमासमेत टुंगो लागेको छैन,’ एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘आज साँझ बैठक डाकिएको छ। सायद त्यहाँबाट सैद्धान्तिक विषयको टुंगो लाग्ला।’ उनले आन्तरिक छलफलसमेत पर्याप्त हुन नसक्दा समानुपातिक तर्फको सूचीलाई अन्तिम रुप दिन नसकेको बताए। 

गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले पनि आन्तरिक रुपमा बुझाउनुपर्ने समानुपातिकतर्फको सूची अझै टुंग्याउन सकेको छैन। 
‘समानुपातिकतर्फको सूची टुंगो लागेको छैन तर त्यसका लागि अझै समय छ,’ माओवादी केन्द्रका नेता हरिवोल गजुरेलले भने, ‘अहिलेको प्राथमिकता प्रत्यक्षतर्फको उम्मेदवारी टुंग्याउने नै हो।’ उनले प्रत्यक्षतर्फका उम्मेदवारका विषयमा दुई पार्टीको कार्यदलले काम गरिरहेको बताए। 

‘अध्यक्षहरु नै रहेको कार्यदलले प्रत्यक्षतर्फको सिट बाँडफाँट र उम्मेदवार टुंग्याउन काम गरिरहेको छ,’ गजुरेलले भने, ‘त्यसकै लागि आज दुई अध्यक्षबीच भेट भएको थियो।’ उनले सैद्धान्तिक विषयमा ८० प्रतिशत काम भएको जानकारी आफूलाई आएको भन्दै त्यसको काम सकिएपछि सिट बाँडफाँटमा टुंगो लाग्ने बताए। 

गजुरेलका अनुसार सिट बाँडफाँटको टुंगो लागेपछि कुन दलले कुन क्षेत्र लिने भन्ने पनि टुंगो लाग्ने बताए।‘त्यसपछि उम्मेदवार पार्टीले आन्तरिक रुपमा गर्ने छौं,’ उनले भने। 

असोज १७ गते पार्टी एकीकरण प्रक्रिया अघि बढाउँदै कार्यदल बनाएको गठबन्धनले अध्यक्षहरुकै नेतृत्वमा कार्यदल बनाएका छन्।

कार्यदलले निर्वाचनमा तालमेल तथा निर्वाचन पछि पार्टी एकताको खाका बनाउने म्याण्डेट पाएको छ। यस्तै दुबै दलले साझा घोषणा पत्र तथा साझा कार्यक्रमसमेत बनाइरहेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell