PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

पोहोरभन्दा सजिलै लक्ष्मी पूजाको साँझ उज्यालो पारिदियो प्राधिकरणले, कुलमानको धपेडी यस्तो रह्यो



पहिलोपोस्ट

पोहोरभन्दा सजिलै लक्ष्मी पूजाको साँझ उज्यालो पारिदियो प्राधिकरणले, कुलमानको धपेडी यस्तो रह्यो

काठमाडौ‌ै : बिहीबार मुलुकमा लोडसेडिङ अन्त्य भएको एक वर्ष पुग्दै थियो। २०७३ सालको लक्ष्मी पूजाको दिनबाट भएको लोडसेडिङ अन्त्यको वार्षिकीको खुसीयालीसँगै नेपाल विद्युत प्राधिकरणसँग चुनौती पनि थियो- यस वर्षको लक्ष्मी पूजा पनि गत वर्ष जस्तै उज्यालो बनाउने। 
 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित उच्च अधिकारी केही दिनदेखि नै यसको गृहकार्यमा थिए। लक्ष्मी पूजाको दिन उद्योग कलकारखाना नचल्ने हुँदा बढीमा १२ सय मेगावाट बिजुली खपत हुने प्राधिकरणको प्रक्षेपण थियो। त्यही अनुरुप साढे १२ सय मेगावाट बिजुली जोहो प्राधिकरण अधिकारीले गरेका थिए। 
 
कार्यकारी निर्देशक घिसिङ बिहीबार दिउँसैदेखि स्युचाटारस्थित प्राधिकरणको भार प्रेषण केन्द्रमा बसेर लोड व्यवस्थापनमा प्रत्यक्ष सहभागी हुने तरखरमा थिए। तर मध्यान्ह १२ बजेतिर अचानक उनलाई फोन आयो- भक्तपुर सबस्टेसनका दुई वटा ट्रान्सफर्मरमा आगो लाग्यो। भक्तपुर जिल्ला नै अँध्यारो हुन पुग्यो। 
घिसिङ प्रवक्ता प्रवल अधिकारी समेतलाई लिएर हतार हतार भक्तपुर हान्निए। साँझसम्ममा जसरी पनि भक्तपुरमा उज्यालो फर्काउने एक मात्र मिसन बनाएर मर्मत कार्यको नेतृत्व गरे। ट्रान्सफरमर मर्मतका लागि खोलेपछि थाहा भयो- भित्र मुसा पो छिरेको रहेछ। मुसा निकालेर मर्मत सुरु भयो।
 
साँझ साढे ५ बजेसम्ममा एउटा ट्रान्सफरमर बन्यो। भक्तपुर बजार क्षेत्रमा त बत्ती बल्यो। तर ग्रामीण भेग अँध्यारै रह्यो।

७ बजेसम्ममा दोस्रो ट्रान्सफरमर पनि बन्यो। बल्ल भक्तपुर पूरै उज्यालो भयो। 
 
***
प्राधिकरणको भार प्रेषण केन्द्र प्रमुख विष्णुप्रसाद श्रेष्ठसहित उच्च अधिकारीको टोली दिउँसै स्युचाटारस्थित कार्यालय पुगिसकेको थियो। साँझ साढे पाँच बजेपछि लोड विस्तारै उकालो लाग्यो। साढे १२ सय मेगावाटसम्मको लोड धान्न कठिन नहुने गरी तयारी गरिएको थियो। 


 
त्यस अनुरुप निजी क्षेत्रका सबै परियोजना पूर्ण क्षमतामा चलेका थिए। प्राधिकरणका पनि कालीगण्डकी ए, मर्स्याङ्दीलगायत सबै आयोजना चालु थिए। हेटौँडास्थित १० मेगावाटको डिजेल प्लान्ट पनि चलाइएको थियो। भारतबाट ४५० मेगावाटसम्म आयात गर्ने गरी तयारी गरिएको थियो। 


 
भार प्रेषण केन्द्रको सिष्टममा लोड बढ्दै गएर साढे छ बजे ११ सय ४१ मेगावाट पुग्यो। त्यतिन्जेल भक्तपुरमा १५ मेगावाट मात्र बिजुली खपत थियो। एउटा ट्रान्सफरमर बनि नसकेकोले थप १५ मेगावाट चालु हुन सकेको थिएन। देशभरबाट केन्द्रमा खवर आइ रहेको थियो- कतै पनि लोडसेडिङ गर्नु परेको छैन।


 
साढे ६ बजे देखि एक घण्टासम्म लोड ११ सय मेगावाट माथि नै रह्यो। त्यती हुँदा प्राधिकरण र निजी क्षेत्रका सबै आयोजना सञ्चालन गरिए पनि कुलेखानी एक तिहाइ बढी बचत नै भयो। ९२ मेगावाटको जलाशययुक्त आयोजना माग अधिकतम हुँदा ५७ मेगावाटसम्म मात्र चलाउनु पर्यो। त्यस बाहेक भारतबाट पनि ४०० मेगावाटभन्दा कम नै बिजुली ल्याउँदा पुग्यो। गत बर्ष कुलेखानी पूर्ण क्षमतामा चलाउनु परेको थियो। 'पोहोरभन्दा यसपालीको व्यवस्थापन सहज भयो, प्राधिकरणका प्रवक्ता अधिकारीले भने- एक बर्षमा हाम्रो सिष्टम धेरै सबल भइ सकेछ।'


 
थप सय मेगावाट बिजुली उपलब्ध गराउन सक्ने अवस्थामै उच्चतम माग पुगेको केन्द्रका प्रमुख श्रेष्ठले बताए। बुधबार औद्योगिक फिडरको बिजुली पनि प्राधिकरणले काटेको थिएन। 'ठूला मेसिन नचालाउन अनुरोध गरेका थियौँ, उनले भने- उद्योगमा बत्ती बाल्न अवरोध नहोस् भनेर बिजुली भने काटेनौँ।' 


त्यस बाहेक प्राधिकरणले होटलहरुलाई पनि लक्ष्मी पूजाको समयमा जेनेरेटर चलाइ दिन अनुरोध गरेको थियो। साथै आमउपभोक्तालाई पनि धेरै बिजुली खपत गर्ने उपकरण नचलाउन भनेको थियो। आफूहरुको अनुरोधलाई सबैले स्वीकारेर सहयोग गर्दा लोड व्यवस्थापन सहज भएको उनले बताए। उद्योग लगायत सबैले पूर्ण क्षमतामा बिजुली उपयोग गरेको भए बुधबारको माग १५ सय मेगावाट पुग्ने उनले जानकारी दिए। 
 
*** 


भक्तपुरमा उज्यालो फर्काए पछि साढे ८ बजेतिर कार्यकारी निर्देशक घिसिङ भारप्रेषण केन्द्र पुगे। कर्मचारीबाट बिजुली व्यवस्थापनको ब्रिफिङ लिए। देशभर सबैलाई उज्यालो दिन सफल भएकोमा कर्मचारीलाई बधाई दिए। राती सवा ९ बजे, लोड हजार मेगावाट हाराहारीमा झरि सकेको थियो।



पहिलाेपाेस्ट टीम भारप्रेषण केन्द्रबाट फर्कँदा पनि घिसिङसहित अधिकारी केन्द्रमै थिए। 'आम नेपालीले खुसी भएर लक्ष्मी पूजा गर्न पाउनु नै हाम्रो सबैभन्दा ठूलो आनन्द हो' घिसिङले भने। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell