
सोल : संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका परमाणुसम्बन्धी उच्च अधिकारीहरुले दक्षिण कोरियाको सोलमा शुक्रबार भेटवार्ता गरेका छन्।
यी दुई देशका सैनिकले गत सोमबारदेखि राजधानी सोलमा जारी राखेको संयुक्त सैन्य अभ्यासकै क्रममा उनीहरुबीच भेटवार्ता भएको हो।
यो भेटवार्तासँगै पछिल्लो समयमा उत्तर कोरियाको आणविक कार्यक्रमका विषयमा अमेरिका र दक्षिण कोरियाले छलफल एवम् अन्य आन्तरिक क्रियाकलापहरु बढाएको चर्चा पनि गरिएको छ।
दक्षिण कोरियाको राजधानी सोलमा जारी सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गरेको थियो। बिरोधकै बीच अमेरिकी र दक्षिण कोरियाली आणविक अधिकारीहरुको यस भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।
यी दुई देशले सोमबारदेखि उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। यसको उत्तरले पनि विशेष मात्रामा निगारी गरिरहेको बताइएको छ।
अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यस सैन्य अभ्यासले आफ्नो देशलाईे सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ।
उत्तर कोरियाको आणविक कार्यक्रमका साथै उसले पछिल्लो समयमा गरेको क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीपमा उत्पन्न गरेको तनावपछिको अवस्थाको बारेमा ती उच्च अधिकारीहरुबीच वार्ता भएको बताइएको छ।
उत्तर कोरियाले दुई महिनामात्र अघि गरेको आणविक परीक्षणले विश्वमा नै तरङ्ग ल्याएको छ।
परीक्षणपछि अमेरिका र दक्षिण कोरियाको मनमा पनि चिसो पसेको छ। जसका कारण सैन्य अभ्यास सुरु भएको बताइएको छ। अभ्यासले आफ्नो देशलाई चुनौती दिन खोजेको अर्थमा उत्तर कोरियाले लिएको छ। रासस/सिन्ह्वा