PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

थाइ राजकुमारी लुम्बिनीमा, बौद्ध विहारको उद्घाटन



पहिलोपोस्ट

बुटवल : थाइल्याण्डकी राजकुमारी महाचाकरी सिरिनधोरन् आज भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आएकी छन्। राजकुमारी सिरिनधोरन लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी भएकी छन्।

थाइ एअरको विशेष वायुयानबाट शुक्रबार बिहान काठमाडौँ आएकी राजकुमारी सिरिनधोरन् त्यहाँबाट बुद्ध एअरको चार्टरमार्फत लुम्बिनी आएकी हुन्। राजकुमारी सिरिनधोरन्सँग ४४ जना थाइ सरकारका विशिष्ट पाहुना पनि भ्रमण दलमा छन्। 

राजकुमारी लुम्बिनी आउने कार्यक्रम रहेपछि करिब एक सातादेखि थाइल्याण्डबाट झण्डै चार हजारभन्दा बढी थाई बौद्धमार्गी र थाई सरकारका प्रतिनिधि लुम्बिनी आएका थिए।

 उनले लुम्बिनीस्थित थाइल्याण्ड सरकारद्वारा निर्मित थाइ राजकीय बौद्ध विहारको उद्घाटन गरेकी छन्। करिब दुई दशकअघि निर्माण थालिएको थाई बौद्ध विहार लुम्बिनीमा तीनवटा निर्माण भएका छन्। 

यी बौद्ध विहार थाइ कला, संस्कृतिसहित बौद्ध कला संस्कृतिमा आधारित थाइ आर्किटेकमा आधारित निकै कलात्मक ढंगले निर्माण गरिएको छ। 
बौद्ध विहारको उद्घाटनपश्चात् राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा आयोजना गरिएको आँखा शिविरकोसमेत उद्घाटन र अवलोकन गर्ने कार्यक्रम छ।

यससँगै उनले यहाँस्थित बेबी बुद्धको दर्शन र मायादेवी मन्दिरमा पुगेर दर्शन तथा पूजाअर्चना गर्नुका साथै प्रार्थना गरेकी लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए।

थाइ सरकारले लुम्बिनीको विकास र लुम्बिनी गुरु योजना सम्पन्न गर्न विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। थाइ सरकारले लुम्बिनीमा सडक, पर्यटन, बौद्ध विहार, त्यहाँका ग्रामीण क्षेत्रमा शिक्षा स्वास्थ्यका क्षेत्रमा समेत सहकार्य गर्दै आएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell