दार्चुला : दार्चुला जिल्लाका दुई क्याम्पससहित सुदूरपश्चिमका १५ क्याम्पसले सुदरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगिकता पाएका छन् ।
हालसम्म समुदायबाट सञ्चालनमा रहेका गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस दार्चुला आंगिक क्याम्पस बनाउनका लागि सरकारबाट निर्णय भइ निर्देशन आएको गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक भक्तराज भट्टले जानकारी दिए।
क्याम्पसले आंगिकता पाइसकेको अवस्थामा जिल्लामा रोजगारीका अवसर सिर्जना हुने र समुदायले सञ्चालन गर्नुपर्ने बाध्यताको अन्त्य हुने उपप्राध्यापक भट्टले बताए।
क्याम्पस सञ्चालनका लागि दार्चुला जिल्लाका गोकुलेश्वर क्याम्पसका लागि ३५ र दार्चुला बहुमुखी क्याम्पस दार्चुला सञ्चालनका लागि २४ वटा दरबन्दी सिफारिश भएका छन्।
मन्त्रिपरिषद्को असोज २ गते भएको निर्णयअनुसार यी क्याम्पसले आंगिकता पाएकाले अब दरबन्दी मिलानको काम मात्रै बाँकी रहेको छ। सुदूरपश्चिमका १५ क्याम्पसका लागि ४४४ दरबन्दी सिफारिश गरिएका छन्।
यस्तै अन्य जिल्लाका आंगिक्ता पाउने क्याम्पसमा कैलालीको कैलाली बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस रहेका छन् भने, बझाङको जयपृथ्वी बहुमुखी क्याम्पस, बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मणिलेक बहुमुखी क्याम्पस, रहेका छन्।
यस्तै डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, डोटीको सीताराम बहुमुखी क्याम्पस र घण्टेश्वर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बडीमालिका बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस रहेका छन्।रासस