काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.गोविन्दराज पोखरेलले राजिनामा दिएका छन्।
आफूलाई राजनीतिक आक्षेप लगाएको कारण देखाउँदै पोख्रेलले आइतबार पदबाट राजिनामा दिएको पहिलोपोस्टलाई बताए।
उनले भने ‘मलाई राजनीतिक आक्षेप लगाइयो त्यसैले मैले राजिनामा दिएको हुँ।’ केही समयअगाडि मात्र सिइओ पोखरेललाई निर्वाचन गतिविधिमा संलग्न भएको भन्दै निर्वाचन आयोगले २४ घण्टाभित्र जिल्ला छाड्न आदेश दिएको थियो।
पोखरेल प्यूठानबाट चुनाव लड्ने चर्चा चलेको छ। चुनाव लड्नकै लागि राजिनामा दिनु भएको हो भन्ने हाम्रो प्रश्नमा पोखरेलले भने,‘ अहिलेसम्म टिकटको कुनै निधो भएको छैन।
टिकट पाए चुनाव लड्छु नत्र आफ्नै प्रोफेसन लाइफमा फर्कन्छु।’ आफ्नो राजिनामाले पुनर्निर्माणको काममा कुनै अवरोध नहुने उनले बताए।
‘प्राधिकरणले एउटा ट्रायक समातिसकेको छ, छ वटै मन्त्रालयलाई समन्वय गर्ने र सरकाले बजेट उपलव्ध गराए पुनर्निर्माणको काम रोकिदैन।’
अहिलेसम्म २ लाख ३५ हजार घर निर्माणाधिन अवस्थामा रहेका, पुस मसान्तसम्म ३ लाख पुग्ने र असार मसान्तसम्म ४ लाख निर्माणाधिन रहेन उनले बताए।
सरकारले सुशील ज्ञवालीलाई सिइओबाट बर्खास्त गरेपछि पोखरेललाई नयाँ सिइओ बनाएको थियो ।
यसैबीच, सरकारले पूर्वसचिव युवराज भुसाललाई पुनर्निर्माण प्राधिकरणको सिइओमा नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भुसाललाई सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो। पोखरेलले पदबाट राजिनामा दिएपछि भुसाललाई सरकारले सिइओ नियुक्त गरेको हो। पोखरेलले आइतबार राजनीतिक आक्षेप लागेको भन्दै पदबाट राजिनामा दिएका थिए।