
झापा : डेंगू रोगको संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। डेंगूबाट बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० वर्षीय उमेश साहको मृत्यु भएको हो।
केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्नेलगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि बिर्ता हेल्थ क्लिनिकमा गएका थिए।
क्लिनिकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वी एण्ड सी अस्पतालमा पठाएको र अस्पताल लैजाँदै गर्दा उनको बाटैमै मृत्यु भएको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिए।
असोज ६ गते बिर्तामोड नगरपालिकामा देखा परेको डेंगू रोगको संक्रमण अहिले दमक, कनकाई, अर्जुनधारा, काँकरभिट्टा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा देखापरेको छ।
हालसम्म झापामा एक सय २० जनामा यो रोगको संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।रासस