
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरी कात्तिक ९ गते काठमाडौँमा उपत्यकास्तरीय प्रशिक्षण दिने भएको छ।
काठमाडौँ उपत्यकाका तीनै जिल्लाका संयोजक तथा पार्टीका जिल्ला तहका नेता र कार्यकर्तालाई दिइने प्रशिक्षणमा संगठन सुदृढीकरणसम्बन्धी ज्ञान सिकाइने छ।
पार्टीले लोकतान्त्रिक गठबन्धनमा सहभागिता जनाउनुका कारणसमेत सहभागीलाई पार्टीका अग्रज नेताबाट जानकारी गराइनेछ। लोकतान्त्रिक गठबन्धनबाट चुनावमा उम्मेदवार बनाइने व्यक्तिलाई विजयी गराउनका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिकासमेत प्रशिक्षणमा बताइनेछ।
कार्यक्रममा पार्टीले लिएका हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था, समावेशी लोकतन्त्र, आर्थिक उदारवादलगायत आदर्शकाबारे सहभागीलाई विस्तृत जानकारी गराइने महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए।
प्रशिक्षणमा सहभागी हुने करिब एकसय नेता तथा कार्यकर्ताले आवश्यकताअनुसार मुलुकका अन्य भागमासमेत संगठन विस्तारमा कार्य गर्नेछन्। पार्टीले जनताको सेवालाई केन्द्रमा राखेर चुनावी प्रचारप्रसारमा लाग्न रणनीतिसमेत तय गर्नेछ।
प्रतिनिधिसभाको दोस्रोचरणका लागि उम्मेदवारको टुंगो पार्टीले चाँडै लगाउने पनि जनाएको छ।रासस