
फ्रान्सका १८ वर्षिय युवा स्टार केएलिन एमबापेले यस वर्षको युरोपियन गोल्डेन ब्वाए अवार्ड जितेका छन्। टुटोस्पोर्ट्सले प्रत्येक वर्ष प्रदान गर्ने अवार्ड युरोपको उत्कृष्ट युवा खेलाडलाई दिने गरिन्छ।
यसै सिजन फ्रेन्च क्लब मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मेन पुगेका एमापेले गत सिजन क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। अवार्ड जित्ने क्रममा एमबापेले आर्सिलोनाबाट खेल्ने फ्रान्सकै ओसमान डेम्बेले र म्यानचेष्टर युनाइटेडका मार्कुस रासफोर्डलाई पछि पारे।
एमबापेले गत सिजन च्याम्पियन्स लिगमा ६ गोल गरेका थिए भने मोनाकोका लाई फ्रेन्च लिग वनको उपाधि जिताउने क्रममा १५ गोल समेत गरेका थिए।
एमबापेले २०१७ मा क्लब र देशका लागि ५१ खेल खेल्दै कूल २५ गोल गरिसकेका छन् भने ११ असिस्ट गरेका छन्।
एमबापेले २९१ भोट प्राप्त गरे भने उनका प्रतिद्वन्दी डेम्बेलेले १४९ भोट पाए। राफोर्ड तेस्रो तथा म्यानचेष्टर सिटीका गाब्रिएल जेसस चौथो स्थानमा रहे। यी बाहेक एसी मिलानका जियानलुजी डोनारुम्बा, बोरुसिया डर्टमण्टका क्रिस्टियन पुलिसिक, अयाक्सका क्यास्पर डोलवर्ग, सेल्टा भिगोका इम्रो मोर, फियोरेन्टिनाका फेडेरिको चिएसा र युभेन्ट्सका रोड्रिगो बेन्टानकुर शीर्ष दश स्थानमा रहन सफल भए।
सन् २००३ देखि प्रदान गर्न शुरु गरिएकव गोल्डेन ब्वाए अवार्ड पहिलो संस्करणमा राफले भान डेर भार्टले पाएका थिए। यस्तै लियोनल मेसी, वायन रुनी, सर्जियो अगुएरो, मारियो बालाटेली, पउल पोग्वा, रेनाटो सान्चेज लगायत खेलाडीले यो अवार्ड जितिसकेका छन्।
क्रिस्टियानो रोनाल्डोले भने यो अवार्ड जित्न सकेनन्।