PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

नेपाली भारोत्तोलन टोली कोरिया प्रस्थान



पहिलोपोस्ट

नेपाली भारोत्तोलन टोली कोरिया प्रस्थान

काठमाडौं : एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार दक्षिण कोरियाको योङगु प्रस्थान गरेको छ। अक्टोबर २८ देखि नोभेम्बर २ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट २ महिला र २ पुरुष खेलाडी सहभागी हुनेछन्। त्यसअघि नेपाली खेलाडी त्यही ४ दिनको प्रशिक्षणमा सहभागी हुने नेपाल भारोत्तोलन संघले जनाएको छ।

पुरुषमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भोरोत्तोलनका एक मात्र नेपाली स्वर्ण विजेता खेलाडी कमलबहादुर अधिकारीले ७७ केजी तथा प्रकाश केसीले ६९ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। महिलाको ५३ केजीमा सन्जु चौधरी तथा ५८ केजीमा कमला श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशबाहेक सबै खेलाडी राष्ट्रिय कीर्तिमानधारी हुन्। कमलको नाममा स्न्याचमा १२० र क्लिन एन्ज जर्कमा १६० केजीको कीर्तिमान छ। स्न्याचमा ६० केजी र क्लिन जर्कमा ८१ केजीको कीर्तिमान सन्जुको नाममा छ। त्यस्तै कमलाको स्न्याचमा ६८ केजी र क्लिन एन्ड जर्कमा ८५ केजीको उत्कृष्ट प्रशर्दन राष्ट्रिय कीर्तिमान हो।

चारै खेलाडीसंग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ। सन्जुले भने विदेशी भूमिमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेकी हुन्। केहि महिनाअघि नेपालमै भएको अन्तर्राष्ट्रिय प्रतियोगिगतामा भने सन्जुले सहभागिता जनाएकी थिइन्।

प्रशिक्षकमा सञ्जय महर्जन र जीवन गौतम रहेका छन्। गौतमले टिम व्यवस्थापकको भूमिका समेत निर्वाह गर्नेछन्। अशोक शाही निर्णायकका रुपमा टोलीसंगै दक्षिण कोरिया गएका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्र हमाल र सदस्य उपेन्द्र पौडेलले सातदोबाटोमा मंगलबारै बिदाइ गरे। टोलीलाई भारोत्तोलन संघका उपाध्यक्ष एवं थ्री स्टार क्लबका म्यानेजर राम श्रेष्ठले प्रायोजन गरेको ट्रयाकसुट र टिसर्ट हस्तान्तरण गरेका थिए।

कार्यक्रममा सदस्य–सचिव विष्टले एसियाली खेलकुदको तयारीलाई ध्यानमा राखि पुस १ गतेदेखि राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु गर्ने बताउँदै त्यसको तीन महिनापछि सकेसम्म खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने वा विदेशी प्रशिक्षकलाई नेपालमा झिकाएर प्रशिक्षण गराउने सोच रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell