
विराटनगरः उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले मंसिर १० र २१ गते हुने संघीय संसद् र प्रदेश निर्वाचनपश्चात् संविधानको सफल कार्यान्वयन हुने बताएका छन्।
लोकतान्त्रिक फोरम नेपाल र नेपाली कांग्रेस पार्टीबीच भएको एकीकरणपछि पहिलोपल्ट विराटनगरस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आज आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा गच्छदारले संविधानमा देखिएका असहमतिका मुद्दालाई संशोधन गरी मधेशी, आदिवासी जनजाति, थारुलगायत सबै वर्गका स्वीकार्य संविधान बनाउने स्पष्ट पारे।
दोस्रो संविधानसभाबाट संविधान निर्माणका लागि आफूले तीन ठूला पार्टीलाई एक ठाउँमा ल्याउन सफल भएको उल्लेख गर्दै गच्छदारले जनताको आन्दोलनबाट प्राप्त लोकतन्त्र र प्रजातन्त्र बचाउनै काँग्रेससँग पार्टी एकीकरण गरिएको स्पष्ट पारे।
दुवै पार्टीका कार्यकर्ताको भावनाअनुसार एकीकरण भएको प्रसंग उल्लेख गर्दै उनले आगामी संसदीय एवं प्रदेश निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुने दाबी गरे। रासस